No ads found for this position

अकस्मात खुमलटार पुगेर ओलीले दिन खोजेका यी ३ राजनीतिक सन्देश

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ४ गते १७:३८
No ads found for this position
अकस्मात खुमलटार पुगेर ओलीले दिन खोजेका यी ३ राजनीतिक सन्देश
No ads found for this position

बालुवाटारबाट विरलै निस्कने ओली एकाएक खुमलटार पुग्नुले नेकपाभित्र केही न केही पाकिरहेको सन्देश गएको छ । यद्यपि खुमलटार र बालुवाटार दुवैतिरका स्रोतहरूले भेटघाट नियमित जस्तै भएको र केही नयाँ कुरा नभएको दाबी गरिरहेका छन् ।

ओली बिहान करीब ११ बजे खुमलटार पुगेका थिए । ‘खुमलटारमा भेट हुने भनेर हिजै तय भएको थियो,’ प्रचण्डनिकट स्रोतले भन्यो, ‘हिजैको कुराकानीअनुसार प्रधानमन्त्री यहाँ आउनुभएको हो ।’

करीब १ घण्टा पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई साक्षी राखेर दुवै अध्यक्षले कुराकानी गरे । ओली खुमलटार छिरेको १५ मिनेटमा गौतम पनि छिरेका थिए । गौतमनिकट स्रोतले उनकै सक्रियतामा ओली र प्रचण्डको भेट भएको दाबी गरेको छ ।

‘कति बालुवाटार मात्र आउनु, कहिलेकाहीँ तपाईं खुमलटार आए पनि त हुन्छ नि !’ हिजो भएको भेटवार्तामा प्रचण्डले ओलीसँग गरेको कुराकानी उदृत गर्दै प्रचण्डनिकट एक नेताले लोकान्तरसँग भने, ‘प्रधानमन्त्रीले हुन्छ, भोलि आउँछु भन्नुभएको रहेछ ।’

खुमलटारमा ओली – नियमिततामा आकस्मिकता ?

ओली बालुवाटारबाट नियमित रूपमा निस्कने भनेको राष्ट्रपति कार्यालय जान हो । शुक्रवार नै पनि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग कुराकानी गरेका थिए । ओली र प्रचण्डले बालुवाटारमा छलफल गरे । छलफलका विषय उही र उस्तै छन् ।

ओलीले खुमलटारको भेटमा पनि सदाझैं पार्टी सचिवालयमा प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता लिन आग्रह गरे । प्रचण्डले यो आफ्नो विषय मात्र नरहेकाले कमिटीले नै निर्णय गर्ने जवाफ दिए । बरू अध्यादेश फिर्ता लिने निर्णय पार्टीले गरिसक्दा पनि त्यसको कार्यान्वयनमा किन ढिलाइ भइरहेको छ भन्ने जिज्ञासा प्रचण्डले राखे ।

प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा भन्छन्, ‘यो पुरानै भेटको निरन्तरता हो । पहिला बालुवाटारमा यस्ता भेट हुने गर्दथे, आज खुमलटारमा भयो । बाँकी विषय पुरानै हुन् ।’

तर ओलीले नियमित भेटमा आकस्मिकता थपे । ओली खुमलटार गएको कुराले राष्ट्रिय राजनीतिमा चर्चा सिर्जना गर्‍यो । यसअघि ओलीले उपाध्यक्ष गौतमको घर भैंसेपाटी पुगेर ‘सरप्राइज’ दिएका थिए ।

गत साउन १३ गते सचिवालयमा गौतमकै कारण समीकरण आफ्नो पक्षमा बनाउन सफल भएका ओली गौतमनिवास छिरेका थिए ।

ओलीले दिएका ३ वटा सन्देश !

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि त्यसको तीव्र विरोध भयो । पार्टीको स्थायी कमिटी बैठकमा ओली पछि हट्नुपर्‍यो । संसदको विशेष अधिवेशन माग गर्दै ८३ जनाको हस्ताक्षरसहित प्रचण्ड–नेपाल पक्षका २ नेता राष्ट्रपतिनिवास पुगेका थिए ।

बालुवाटारमा ओली र प्रचण्डबीच अध्यादेश र समावेदन दुवै फिर्ता गर्ने सहमति भएपछि राष्ट्रिय राजनीतिमा ओलीलाई कमजोर भएको भन्दै व्याख्या र विश्लेषण हुन थाल्यो । प्रचण्ड–नेपाल पक्षले विभिन्न भेलाहरूमार्फत पार्टी फुटाउने खेलमा ओली नै लागेको भन्दै सन्देश प्रवाह गरिरहेका थिए ।

नियमिततामा आकस्मिकता थपेर प्रचण्ड निवासमा ओली पुग्नुले ओलीलाई ३ वटा फाइदा हुने निष्कर्ष बालुवाटारले निकालेको छ । पहिलो हो – ओली पार्टी फुटका पक्षमा छैनन् । बालुवाटारबाट निस्केर शीतलनिवासबाहेक अन्त कतै नजाने ओली सहमतिका लागि भन्दै खुमलटार पुग्न सक्छन् ।

दोस्रो – पार्टीभित्र अल्पमतमा रहेको र कमजोर बन्दै गएको विश्लेषण भइरहेका बेला खुमलटार पुगेरै प्रचण्डसँग सहमतिको प्रयास गर्नुले आफूनिकट नेता कार्यकर्तालाई उत्साहित बनाउने निष्कर्ष बालुवाटारले निकालेको छ ।

‘ओली खुमलटार जाँदै’ भन्ने खबर सबैभन्दा पहिला उनकै सचिवालयबाट बाहिरिएको थियो । ओलीले आफ्ना फोटोग्राफरलाई समेत साथमै लिएर खुमलटार गएका थिए । ओली खुमलटारबाट फर्केपछि सिधै बालुवाटार गएनन्, बरू गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’को सरकारी निवास छिरे । केही मन्त्रीहरूसँग कुराकानी गरे ।

यसअघि ओलीको ‘मुभमेन्ट’बारे सूचना दिन चासो नराख्ने बालुवाटारले पलपलका तस्वीरहरू सार्वजनिक गरिरह्यो । सञ्चारकर्मीहरूलाई फोन नै गरेर सूचना दिइयो ।

ओलीले दिन खोजेको तेस्रो सन्देश हो – प्रचण्डसँगको संवादलाई निरन्तरता दिएपछि प्रचण्डसँग निकट रहेका वरिष्ठ नेता नेपाल पक्षका नेताहरूको मनमा उत्पन्न आशंका अझै बढी भएर जानेछ । नेपाल पक्षले प्रचण्डलाई अस्थिर र तुरुन्तै सम्झौता गरिहाल्न सक्ने नेताका रूपमा लिएको छ ।

पछिल्लो समय प्रचण्डले त्यो भ्रम चिर्न प्रयास त गरिरहेका छन् तर प्रचण्डले ओलीसँग कहाँ र कतिबेला कुन सम्झौता गर्छन् भन्ने संशय कायमै छ । सम्भवतः यही कारण हुनसक्छ ओली निस्कने बेलामा नेता नेपाल खुमलटार पुगे । नेपाल र ओलीबीच गेटमा जम्काभेट भयो ।

यसअघि गौतम ओलीका पक्षमा उभिएपछि तत्कालीन सत्तासंकट टरेको थियो । अनि ओली गौतमको घरमै पुगेका थिए । प्रचण्डकहाँ ओली पुग्नुले कतै प्रचण्डलाई ओलीले आफ्नो खेमामा ल्याएका त होइनन् भन्ने प्रश्न खडा गर्न बालुवाटार चाहन्थ्यो ।

ओली–प्रचण्ड भेटपछि नेपाल पक्ष सशंकित कि उत्साहित ?

नेता नेपालनिकट एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने, ‘प्रधानमन्त्री खुमलटार आउँदा यतिधेरै हल्लाखोर गर्नु जरुरी थिएन । त्यो उहाँको बानी हो । आफू अप्ठ्यारोमा परेपछि उहाँ जहाँ र जता पनि जान सक्नुहुन्छ ।’

ओलीको यो नियमित आकस्मिकताले प्रचण्ड र नेपालबीचको सम्बन्धलाई असर त गर्दैन भन्ने प्रश्नमा उनको जवाफ छ, ‘त्यो पहिलाको कुरा थियो । हामीले पनि प्रचण्डलाई ओलीसँग गएर सम्झौता गरिहाल्न सक्ने नेताका रूपमा लिन्थ्यौं । अहिले परिस्थिति बदलिएको छ । प्रचण्ड र नेपाल दुवै विधि र पद्धतिका आधारमा अघि बढ्न सहमत हुनुहुन्छ । ओलीले जे जस्तो सन्देश दिए पनि प्रचण्ड र नेपालबीच रहेको विश्वासको वातावरण झनै बढेर गएको छ । यस्तो अवस्थामा आशंका गर्नुपर्दैन ।’

उनले जे भने पनि नेता नेपाल तत्कालै गएर ओलीसँग के–के कुरा भयो भनेर प्रचण्डलाई सोधेका थिए । प्रचण्डले केही नभएको र बालुवाटारमा जस्तो हुन्थ्यो त्यस्तै कुरा भएको बताए ।

‘नपत्याए वामदेव कमरेडलाई सोध्नुस् न,’ प्रचण्डले हाँस्दै नेता नेपालसँग भनेका थिए ।

प्रकाशित : २०७७ पुष ४ गते १७:३८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI