कोभिडपीडित व्यवसायीकाे संघर्ष समिति गठन, माग पूरा गर्न सरकारलाई सातदिने अल्टिमेटम

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ४ गते २०:१२
कोभिडपीडित व्यवसायीकाे संघर्ष समिति गठन, माग पूरा गर्न सरकारलाई सातदिने अल्टिमेटम

कोभिड १९ महामारीका कारण पेसा, व्यवसायमा समस्या भोगेका व्यवसायी एकताबद्ध भएर आन्दोलनको घोषणा गरेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसका कारण लकडाउन घोषणापछि पेसा, व्यवसाय धराशायी भएको र राज्यले सेवामूलक तथा विभिन्न उद्योग, व्यवसायको समस्या समाधान गर्न उदासीन भएको भन्दै ७ दिनको अल्टिमेटम दिएर आन्दोलनको घोषणा गरेका हुन् ।

सार्वजनिक यातायात व्यवसायी, पर्यटनसँग सम्बद्ध संगठनहरु, निजी विद्यालय, पार्टी प्यालेस तथा क्याटरिङ, निर्माण सामाग्री व्यापार संघ, आयुर्वेद, सुनचाँदी, फर्निचर, काष्ठकलालगायत व्यवसायसँग सम्बन्धित २२ संघसंस्थाले संघर्ष समिति गठन गरेर आन्दोलनको घोषणा गरेका हुन् ।

कोभिडका कारण धराशायी बन्न पुगेका पेसा, व्यवसायको संरक्षणमा सरकारले राहत प्याकेज घोषणा गर्नुपर्ने, बन्द रहेका पेसा–व्यवसायको सम्पूर्ण कर र जरिवाना मिनाहा गर्नुपर्ने, ऋणको ब्याज, घरभाडा छुट गर्न राज्यले व्यवस्था गर्नुपर्नेलगायतका माग सरकारसँग राखिएको संघर्ष समितिका संयोजक कर्णबहादुर शाहीले बताए ।

माग पूरा गराउन सम्बन्धित निकायमा ७ दिनको म्याद दिएको उल्लेख गर्दै संघर्ष समितिले माग पूरा नभए निजी क्षेत्रबाट सरकारलाई तिर्ने करको अवज्ञा गर्ने, सडक प्रदर्शन गर्ने तथा राष्ट्र बैंक, वित्तीय संस्था एवं सिंहदरबार घेराउ गर्ने संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

कोभिड १९ संक्रमणका कारण गत चैत्र महिनाको लकडाउन पछि धेरै पेसा, व्यवसाय पूर्ण रुपमा आजसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् ।

प्रकाशित : २०७७ पुष ४ गते २०:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI