No ads found for this position

नेकपा विवाद निर्णायक मोडतिर, आजको बैठकमा आउलान् ओली ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ५ गते ८:५०
No ads found for this position
नेकपा विवाद निर्णायक मोडतिर, आजको बैठकमा आउलान् ओली ?
No ads found for this position

५ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने/नहुने यकिन नभएको उनको सचिवालय स्रोत बताउँछ ।

ओली नआएको खण्डमा बैठक अगाडि बढाउने वा नबढाउने भन्ने सम्बन्धमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको समूहले पनि ठोस मनस्थिति बनाइसकेका छैनन् ।
प्रधानमन्त्री ओलीले भने शीर्ष तहमा सहमति गरेर मात्र बैठक गर्न आग्रह गरिरहेका छन् । शनिबार प्रचण्डलाई भेट्न खुमलटार पुगेका ओलीले पनि दुवै नेताको आरोपत्रको बारेमा सहमति कायम गरेर मात्र बैठक राख्न आग्रह गरेका थिए ।

तर प्रचण्डले भने पार्टीमा जति विवाद छन्, सबै विषयमा स्थायी कमिटीले नै निर्णय लिने जवाफ दिएका थिए । शनिबार दाहाललाई भने ओलीले बैठकमा आफू नआउने जवाफ दिएका थिए ।

अब नेकपा बैठक विस्तारै निर्णायक चरणतर्फ प्रवेश गराउने दाहाल–नेपाल समूहको तयारी छ । अहिले संसद अधिवेशन नचलेका कारण अहिले नै कुनै कदम चाल्दा ओलीले त्यसको काउन्टरमा नयाँ अध्यादेश जारी गर्ने भएकाले दाहाल–नेपाल समूह संसदसम्म कुर्ने पक्षमा छन् ।

संवैधानिक प्रावधान अनुसार अबको दुई हप्तामा सरकारले जसरी पनि संसदको अधिवेशन बोलाउनुपर्ने हुन्छ । अधिवेशन बोलाएपछि प्रधानमन्त्री ओलीले पार्टी विभाजनसम्बन्धी तथा अन्य अध्यादेश ल्याउन पाउने छैनन् ।

अहिलेसम्म स्थायी समितिको बैठक लम्ब्याउने दाहाल र ओली समूहकै रणनीति थियो । अब विवाद निर्णायक मोडतिर गएको संकेत दाहालले केही दिन अगाडि प्रदेश नं. १ को भेलामा पनि दिएका थिए ।

निर्णायक कदमका लागि नै कार्यकर्तालाई मानसिक रुपमा तयार गराउन दाहाल–नेपाल समूहले कार्यकर्ता भेला गरिरहेका छन् । दाहाल–नेपाल समूहले निर्णायक कदमको तयारी गरिरहँदा ओलीले भने केही नयाँ प्रस्ताव अगाडि बढाएका छन् । यस अगाडिझैं उनले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

तर यो संवैधानिक रुपमा सहज विषय होइन । अहिले संसदमा नेकपामा दुई तिहाइ नभएका कारण संविधान संशोधन गरेर गौतमलाई प्रधानमन्त्री बन्ने अवस्था खोल्न सक्ने अवस्था छैन् ।

यति मात्र होइन, प्रधानमन्त्री ओलीको समूहमा अब एक पद छोड्नै पर्ने अवस्था आएको निष्कर्ष निस्कन थालेको छ । त्यस्तो अवस्थामा पार्टी अध्यक्ष वा प्रधानमन्त्री कुन पद छाड्ने भन्ने बहस जारी छ ।

प्रकाशित : २०७७ पुष ५ गते ८:५०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI