सरकारले अस्थिरता निम्तायो : काङ्ग्रेस

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ६ गते ८:३५
सरकारले अस्थिरता निम्तायो : काङ्ग्रेस

प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारले संविधानविपरीत संसद् विघटन गरेर अस्थिरता निम्त्याउने षड्यन्त्र रचेको भन्दै घोर निन्दा गरेको छ । ‘देशलाई स्थिरता र समृद्धितर्फ डोर्‍याउनुपर्ने वेला सरकारले संसद् विघटन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षड्यन्त्र रचेको छ,’ कांग्रेसको ठहर छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको आकस्मिक बैठकले दुईतिहाइनजिक नेकपा नेतृत्वको सरकारको संसद् विघटन गर्ने कदमलाई घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक व्यवस्था प्रतिकूल बदनियतपूर्ण कार्य भनेको छ ।

सरकारले हठात् प्रतिनिधिसभा विघटन गरी वैशाखमा मध्यावधि निर्वाचन गर्ने गरी गरेको निर्णय, प्रधानमन्त्री केपी ओलीको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीबाट सिफारिस स्वीकृत भएकाप्रति कांग्रेसले भत्र्सना गरेको छ ।
बैठकले मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकटतर्फ धकेल्दै ओली सरकारले गैरलोकतान्त्रिक कदम लिएकोप्रति घोर भत्र्सना गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । ‘सरकारको यो कदम संविधानविपरीत छ, लोकतन्त्रको मर्मविपरीत छ र राष्ट्रहितविपरीत भएको हाम्रो ठहर छ,’ उनले भने ।

गएको निर्वाचनमा नेकपाले स्थिरता, शान्ति र समृद्धिको नारा दिएर पाँच वर्षका लागि सरकार चलाउने म्यान्डेट लिए पनि त्यसको सम्मान गर्न नसकेको ठहर भएको सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए । ‘सरकारले जनताबाट प्राप्त जनादेशको अपमान गरेको हाम्रो ठहर छ,’ बैठकपछि डा. महतले भने, ‘कम्युनिस्ट पार्टी र सरकार, देश र जनताका हितमा सत्ता सञ्चालन गर्न अक्षम, जनताप्रति गैरजिम्मेवार र अनुत्तरदायी रहेको पछिल्ला घटनाहरूले थप पुष्टि गरेका छन् ।’

उनले बैठकले कोभिड— १९ को महामारीले जनता सर्वाधिक पीडामा रहेको अवस्थामा जनताका जनजीविका र सुविधाका विषयबाट विमुख र निरपेक्ष हुँदै आफ्नो पद र शक्तिका लागि सत्ता–संघर्षमा केन्द्रित हुनु दुःखद भएको ठहर गरेको बताए । ‘नेकपा र सरकारका कारण देशमा असहज परिस्थिति उत्पन्न भएको छ, यस्तो वेला नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डो¥याउन कांग्रेसले अग्रसरता लिने निर्णय भएको छ,’ नेता अर्जुननरसिंह केसीले भने ।

सरकारले संसद् विघटन गरेर लोकतन्त्र र संविधानको विरुद्धमा कदम चालेकाप्रति बैठकमा सहभागी नेताहरू एकमत थिए । सरकारले असंवैधानिक कदम चालेर लोकतन्त्रको मर्ममाथि प्रहार गरेको साझा ठहर थियो । तर, संसद् विघटन गरेर चुनाव घोषणा गरेकोप्रति कसैले सडक–संघर्ष र आन्दोलनको प्रस्ताव गरेका थिए भने कसैले चुनावी कार्यक्रम बनाएर तयारी थाल्नुपर्ने भनेका थिए । कांग्रेसले उपयुक्त किसिमको रणनीति अपनाउने र जनतालाई निकास दिने गरी काम गर्ने प्रमुख सचेतक बालकृष्ण खाणले बताए ।

पार्टीले थप धारणा बनाउन मंगलबार केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीले यस्तो महत्वपूर्ण विषयमा समेत पदाधिकारी बैठकबाटै निर्णय लिन प्रयास गरेको भन्दै कतिपय केन्द्रीय सदस्यहरूले विरोध गरेपछि सभापति देउवाले केन्द्रीय समिति बोलाएका हुन् । मंगलबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रीय समितिको बैठकले पार्टीको थप रणनीति तयार गर्ने कांग्रेसले जनाएको छ ।

प्रतिनिधिसभा विघटनप्रति जसपाको ध्यानाकर्षण
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जसपाले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गरिएको गम्भीर प्रहार भएको ठहर गरेको हो । सो कदमको विरोध जनाउँदै जसपाले सम्पूर्ण पार्टीपंक्ति र नागरिकलाई सो कदमको प्रतिवाद गर्न पनि आग्रह गरेको छ । पार्टीको बैठक यथाशीघ्र बसी सो सम्बन्धमा थप निर्णय गरिने जसपाले जनाएको छ ।

प्रकाशित : २०७७ पुष ६ गते ८:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI