संसद् विघटन बदरको माग गर्दै नेकपाका सांसदद्वारा रिट दर्ता, भोलिलाई पेसी तोकियो

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ७ गते १७:२६
संसद् विघटन बदरको माग गर्दै नेकपाका सांसदद्वारा रिट दर्ता, भोलिलाई पेसी तोकियो

काठमाडौं । नेकपाका संसद्‌हरुले संसद् विघटनविरुद्ध दायर रिटमा भोलिका लागि पेसी तोकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा विघटन गरेको संसद्‌का चार सांसदहरुले आज रिट दर्ता गराएका हुन् । सो रिट नियमित अदालतमा एकल इजलासमा भोलि सुनुवाइ हुने सर्वोच्च अदालतमा रिट महाशाखाका प्रमुख बाबुराम दाहालले जानकारी दिए ।

प्रतिनिधिसभामा नेकपाका प्रमुख सचेतक रहेका देव गुरुङ, सांसदहरु कृष्णभक्त पोख्रेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीले रिट दर्ता गराएका हुन् ।  रिटमा प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्‍निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ । नेकपाका सांसदहरुसहित संसद् विघटनविरुद्ध दायर अन्य रिटलाई पनि सँगै राखेर सुनुवाइ गरिनेछ ।

 

के छ रिटमा ?
रिटमा राष्ट्रपतिले विघटन घोषणा गर्नु असंवैधानिक रहेकाले संसद् विघटन नभएको जिकिर गरिएको छ । “प्रधानमन्त्रीले गरेको संसद् विघटन र निर्वाचनको मिति सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिबाट गरेको संसद् विघटनको निर्णयबाट हामी निवेदक पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्‍चित भएका छौं,” रिटमा भनिएको छ, “अतः मिति २०७७ पुस ५ मा प्रधानमन्त्रीले गरेको सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण काम-कारबाही र सो सिफारिसका आधारमा भए गरेका सम्पूर्ण कार्यहरु नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणको आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने कामहरु सम्पन्न गर्न आवश्यक र उपयुक्त आदेश जारी होस् ।”

प्रकाशित : २०७७ पुष ७ गते १७:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI