लगातार सात वर्षसम्म दाजुबाट बहिनी बलात्कृत

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ७ गते २०:५१
लगातार सात वर्षसम्म दाजुबाट बहिनी बलात्कृत

रुपन्देही । दाजुले आफ्नै बहिनीमाथि लगातार सात वर्षसम्म बलात्कार गरेको रहस्य खुलेको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–२, ओढारखोला घर भई हाल बुटवलमा एक संस्थामा कार्यरत् व्यक्तिले बहिनीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत पाल्पामा मुद्दा परेपछि घटना बाहिर आएको हो ।

 

सात वर्षदेखि १४ वर्षको उमेरसम्म लगातार बलात्कार गरेको भन्दै दाजुविरुद्ध बहिनीले अदालतमा हाडनाता करणीको मुद्दा हालेपछि घटनाको रहस्य बाहिर आएको हो ।

गत मंसिर २३ गते पीडित युवतीले हाडनाता करणीअन्तर्गत् मुद्दा दिएको अदालतले जनाएको छ ।

पीडित युवतीका अनुसार ओढारखोलास्थित घरमा दाजुले लगातार बलात्कार गर्ने गरेका थिए ।

तत्कालीन समयमा पाल्पाको तानसेनमा स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले आफू बस्ने कोठामा लगेर पटक–पटक बलात्कार गर्ने गर्थे । सानै उमेरमा बलात्कार भएका कारण परिवारलाई पीडा हुने देखेर बाहिर बोल्ने आँट नगरेको भए पनि अहिले बुवा–आमाको मृत्यु भएपछि दाजुविरुद्ध अदालतमा जाहेरी दिएको युवतीको भनाइ छ ।

‘‘म सानै भएकाले पहिले त मैले यसबारे कसैलाई भन्न सकिनँ । विस्तारै ठूली हुँदा बुवा–आमालाई पीडा हुन्छ कि भनेर मौन रहेँ,’’ पीडितले भनिन्, ‘‘अहिले बुवा–आमा पनि बित्नुभयो र आँँट गरेर उजुरी हालेँ ।’’

सानै हुँदा बलात्कारका बारेमा भन्न नसके पनि ठूली भएर भन्न खोज्दा दाइले घरमा बाँधेर राख्ने गरेको पीडा सुनाउँदै उनले त्यसपछि आफू भागेर काठमाडौं गएको बताइन् ।

‘‘बाँधेर राखेपछि म धेरै कमजोर भएँ । तर, मेरोबारेमा बोलिदिने कोही भएन । दाजुको व्यवहारले घरमा बस्न मन नभएपछि भागेर हिँडे,’’ उनले सुनाइन् ।

लगातारको बलात्कारका कारण अहिलेसम्म मानसिक यातना भोग्नुपरेको पीडितको गुनासो छ ।

उनका अनुसार स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले विभिन्न औषधि खुवाएर बलात्कार गर्थे । ‘‘आफ्नै दाइले यस्तो गर्छ भनेर मैले सोचेकी थिइनँ । असह्य पीडाले मलाई मानसिक समस्या भयो,’’ उनले भनिन्, ‘‘डाक्टरसँग परामर्श लिएर उपचार गरेपछि मानसिक समस्याबाट छुटकारा पाएँ ।’’

करिब चार वर्षसम्म वैदेशिक रोजगारीमा बसेर फर्किएको अनुभव सुनाउँदै पीडित युवतीले अब सात वर्षसम्म सहेको बलात्कारको पीडा र अहिलेसम्म भोगेको मानसिक यातनाविरुद्ध न्याय खोज्न नेपाल फर्किएको बताउँछिन् ।

‘तीन महिनाको अन्तरालमा बुवा र आमा गुमाएँ । कोरोना संक्रमित भएकाले मुख देख्न आउन पाइनँ । मन सम्हालेर आफूमाथि भएको अन्यायविरुद्ध न्यायका लागि अदालतको ढोका ढक्ढकाएकी छु,’’ पीडित युवती भन्छिन्, ‘‘न्याय मरेको छैन भने अवश्य पाउनेछु भन्ने आशा छ ।’’

मुलुकी अपराध संहिता २०७४ अनुसार हाडनातामा करणी भएमा १० वर्षदेखि जन्मकैदसम्म कैद सजाय र एक लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ । रासस

प्रकाशित : २०७७ पुष ७ गते २०:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI