जेसिबीले खन्दै गर्दा घरमाथी ढुंगा खस्यो, १ महिने बालकको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ९ गते १३:५३
जेसिबीले खन्दै गर्दा घरमाथी ढुंगा खस्यो, १ महिने बालकको मृत्यु

प्रेम क्षेत्री
नवलपुर । नवलपरासी (वर्दघाट सुस्तापूर्व) जिल्लाको हुप्सेकोट गाउँपालिका २ गैंडाखोला जमुनेबाँधमा जेसिबीले खन्दै गर्दा घरमाथी खसेको ढुंगा लागेर एक महिने बालकको मृत्यु भएको छ ।
हुप्सेकोटको जमुनेबाँध स्थित शोभा परियारको घडेरीमा खन्दै गरेको लु १ क ४२२३ नम्बरको जेसिबीले ढुंगा पल्टाउने क्रममा ५० मिटर तल रहेको पहल सिंह परियारको घरमाथी ढुंगा परेको थियो । ढुंगाले घरको गाह्रो भत्कन गई कोठा भित्र रहेका १ महिने बालक रेमन परियारको बुधबार साँझ घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।
पहल सिंह परियारकी बुहारी २२ वर्षकी ज्योती परियारले सो बेला घरभित्र आफ्नै १ महिनाको छोरा रेमनलाई तेलले सेक्दै गर्दा ढुंगाले लागेको जनाईएको छ । ज्योती परियार घाईते भएको र उहाँको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा सामान्य उपचार पश्चात थप उपचारको लागी भरतपुर अस्पताल चितवन पठाईएको प्रहरीले जनाएको छ । उहाँको टाउको, छाती र हातमा चोट लागेको छ ।
मृतक बच्चाको प्रारम्भिक अनुसन्धान पश्चात शव परीक्षणका लागी मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।

प्रकाशित : २०७७ पुष ९ गते १३:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI