:कुलमान गएपछि प्राधिकरण लथालिङ्ग: विद्युत प्राधिकरणले निकाल्न थाल्यो लोडसेडिङको तालिका

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १६ गते १४:२७
:कुलमान गएपछि प्राधिकरण लथालिङ्ग: विद्युत प्राधिकरणले निकाल्न थाल्यो लोडसेडिङको तालिका

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चार वर्षपछि लोडसेडिङलाई निरन्तरता दिने गरि विजुली कटौती गर्न थालेको छ।

प्राधिकरणको वर्तमान नेतृत्वले घुमाउरो पाराले लोड व्यवस्थापन गर्न भन्दै ललितपुरका विभिन्न स्थानमा विद्युत कटौतीका लागि सूचनानै प्रकाशित गरेको छ। काठमाडौ बानेश्वरको लोड व्यवस्थापन गर्न ललितपुरका चापागाउँ, हरिसिद्धि, र खुमलटारस्थित रेडियो नेपाल फिडर १ देखि ३ घण्टा सम्म बन्द गर्न सूचना निकालिएको छ। चापागाउँमा बिहान ९ बजेदेखि १० बजे सम्म, हरिसिद्धिमा १२ बजे देखि २ बजे सम्म र खुमलटारस्थित रेडियो नेपालमा १२ बजे देखि ३ बजे सम्म विद्युत आपूर्ति रोकिने छ।

लोड व्यवस्थापनको अर्थ हो, ‘औपचारिक लोडसेडिङको सुरुवात।’ प्राधिकरणका एक कर्मचारीका अनुसार लोडसेडिङको रिहर्सल केही अघिदेखि भएको र औपचारिक सुरुवात विहीबारदेखि भएको हो।

‘की मर्मतको लागि भनेर सूचना निकाल्नु पर्थ्यो। त्यसरी मर्मत गर्दा त्यहि ठाउँमा मात्रै लाइन काटिन्छ,’ उनले भने, ‘अहिले एक दिनको लागि मात्रै तालिका निकालिएको छ। भोलि अर्को ठाउँको लोड व्यवस्थापन गर्न भनेर यसै गरि तालिका बनाएर सूचना निकाल्दा आश्चर्य नमाने हुन्छ।’ उनका अनुसार उपभोक्ताबाट कुनै विरोध नआएमा विस्तारै लोडसेडिङको तालिका नै प्रकाशित हुनेछ।

 

कुलमान घिसिङ वाहिरिएको चार महिनामै प्राधिकरणको व्यवस्थापनलाई भताभुङ बनाउँदै लोडसेडिङको सुरुवात गरिएको छ। घिसिङ वाहिरिएपछि दैनिक केही घण्टा विजुली जान सुरु गरेको थियो। त्यसपछि विस्तारै बढाउँदै लगेर लोडसेडिङको अध्यारोमा लैजान खोजिएको देखिन्छ।

तर विद्युत प्राधिकरणका प्रमुख हितेन्द्रदेव शाक्य भने बानेश्वर सव स्टेसनको लोड घटाउन हरिसिद्धि र चापागाउँमा लाइन काट्नु परेको दावी गर्छन्। ‘बानेश्वर सवस्टेसनको एउटा लाइन पाटन हुँदै हरिसिद्धि सम्म गएको छ। त्यसैले उक्त फिडर व्यवस्थापन गर्न हरिसिद्धि सम्म लाइन काट्नु परेको हो,’ शाक्यले भने। उनको यो तर्क प्राधिकरणकै कर्मचारी मान्न तयार छैनन्।

‘व्यवस्थापनको कमजोरीका कारण बानेश्वर मात्रै नभएर देशका धेरै ठाउँमा लाइन ट्रिपिङ भइरहेको छ। काठमाडौंको लोड गत वर्षको भन्दा कम भएकाले कुनैपनि सवस्टेसन ओभरलोड छैनन्,’ ती कर्मचारीले भने। काठमाडौंमा गत वर्ष साढे चार सय मेगावाट हाराहारी विद्युतको माग रहेकोमा अहिले ३७० देखि ८० मेगावाट मात्रै विद्युत माग छ।

जुन गत वर्षको तुलनामा ६० देखि ७० मेगावाट कम हो। गत वर्ष साढे चार सय मेगावाटको माग व्यवस्थापन गरेको प्रणालीले अहिले ३७० मेगावाटको माग व्यवस्थापन गर्न सकेन भनेर कसरी पत्याउने? ‘१४५० मेगावाटको माग सजिलै व्यवस्थापन गर्न सकिने भएपनि कुनै तत्वले जवरर्जस्ती लोडसेडिङ गराउन चाहेको प्रष्ट छ,’ प्राधिकरणका एक पूर्व कर्मचारीले भने, ‘सूचना ननिकालेर एक डेढ घण्टासम्म लाइन काटिएकै थियो। अब लोड व्यवस्थापनका नाममा २/३ घण्टासम्म लाइन काटिने सूचना आयो।’

अहिले भारतबाट अधिकतम साढे ६ सय मेगावाटसम्म विद्युत आयात गरेर माग व्यवस्थापन गरिएको छ। पुस १४ गते विद्युत प्राधिकरणका आयोजनाबाट ४९६ मेगावाट, निजी क्षेत्रका आयोजनाबाट ३०२ मेगावाट र भारतबाट ६०२ मेगावाट विद्युत आयात गरिएको छ। गत वर्ष सोही दिन विद्युत प्राधिकरणका आयोजनाबाट ५०७ मेगावाट, निजी क्षेत्रबाट ३०५ मेगावाट र भारतबाट ५१५ मेगावाट विद्युत आयात गरिएको थियो।

गत वर्ष १३५२ मेगावाट रहेको पिक डिमाण्ड अहिले १४४० मेगावाट पुगेको छ। जुन गत वर्षको भन्दा ९० मेगावाट बढी हो। गत वर्षको भन्दा स्वदेशी जलविद्युत आयोजनाको जडित क्षमता बढी भएपनि विद्युत उत्पादन भने गत वर्षको भन्दा कम देखिनुको अर्थ चुहावट पनि अत्याधिक बढेको प्राधिकरणका कर्मचारीहरुनै बताउँछन्।

प्रकाशित : २०७७ पुष १६ गते १४:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI