गैंडाकोट नगरपालिकाको आठौं नगरसभा सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १६ गते २०:१७
गैंडाकोट नगरपालिकाको आठौं नगरसभा सम्पन्न

गैंडाकोट, १६ पुस । गैंडाकोट नगरपालिकाको आठौं नगरसभा सम्पन्न भएको छ । नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलको सभाध्यक्षमा भएको नगरसभाले वातावरण तथा प्रकृतिक स्रोत संरक्षण ऐन २०७७ विधेयकका केही बुँदाहरु संसोधन गरि निणर्यार्थ पारित गर्दै विहिबार आठौं नगरसभा सम्पन्न भएको हो ।

आठौं नगरसभामा गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भूसालले गैंडाकोट नगरपालिकाको वातावरण तथा प्रकृतिक स्रोत संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ प्रस्तुत गर्नुभएको थियो । १९ पृष्ठहरुमा ६६ बुँदाहरुलाई समावेश गरि तयार पारिएको प्रस्तुत विधेयकमा नगरपालिका भित्रका प्रकृतिक स्रोत र साधनहरुको संरक्षण, वातावरणीय अध्यायन, त्यसको गुणस्तर, व्यवस्थापन र प्रयोगलगायतका दर्जनौं शिर्षकहरुमा ऐनहरु समावेश गरिएको छ । विधेयकमा फोहोर मैला व्यवस्थापन, उत्पादन, पृथकीकरण, निष्काशन र पुनःप्रयोग जस्ता विषयहरुलाई पनि समावेस गरिएको छ ।

यसैगरि वातावरण तथा प्रकृतिक स्रोत संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ मा नीजि बन दर्ता व्यवस्थापन, सार्वजनिक जग्गामा वन विकास समबन्धि व्यवस्था, वन पौदावार, वन्यजन्तु, सहरी वनको विकास र व्यवस्थापन र बृक्षारोपण लगायतका विषयहरुमा ऐनहरु बनाईएको छ ।

प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भूसालले आठौं नगरसभा सो विधेयक प्रस्तुत गरेपश्चात नगरसभाका सदस्यहरुले केही बँुदाहरुमा असहमति जनाउँदै संसोधनकालागि सुझाव दिनुभएको थिए । अधिकांश नगरसभा सदस्यहरुले विधेयकको बुँदा नं ४७ मा असहमति जनाउनुभएको थियो । उक्त बुँदामा वातवरण तथा प्राकृतिक स्रोत संरक्षण परिषद गठन गर्न सक्ने सम्बन्धी विषयमा व्याख्या गरिएको छ ।

विधेयक उपर नगर उपप्रमुख विष्णुकुमारी कँडेल, नगरसभा सदस्यहरु गोबिन्द कोईराला, राजेन्द्र उपाध्याय, सुरेन्द्र रेग्मी, कुमारी रेखा पौडेल र प्रकाश सापकोटाले टीप्पणी सहित संसोधन प्रस्ताव राख्नुभएको थियो ।

नगरसभामा आएका सुझवहरु सहितका टिप्पणीहरुको नगर सभाध्यक्ष छत्रराज पौडेल र प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भूसालले जवाफ दिनुभएको थियो । साथै केही वुँदाहरु संसोधन गरि विधेयकमा समावेश गर्ने सहमति पछि नगरसभाको बहुमतले वातावरण तथा प्रकृतिक स्रोत संरक्षण विधेयक २०७७ लाई पारित गरेको नगर सभाध्यक्ष तथा नगरप्रमुख छत्रराज पौडेलले घोषणा गर्नुभएको थियो ।

आठौं नगर सभाले कोभिड १९ को समयमा अतुलनिय योगदान दिने ल्याव असिस्टेन्ट नविना गुरुङ, सवारी चालक राजु बराल र एम्बुलेन्स चालक सन्तोष थापालाई सम्मान समेत गरेको थियो ।

प्रकाशित : २०७७ पुष १६ गते २०:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI