नवलपुर जिल्ला समाज युकेद्वारा बाढी प्रकोप प्रभावित र विपन्न परिवारलाई राहत हस्तान्तरण

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १८ गते २०:२१
नवलपुर जिल्ला समाज युकेद्वारा बाढी प्रकोप प्रभावित र विपन्न परिवारलाई राहत हस्तान्तरण

टिकाराम रजाली/बुलिङ्गटार
नवलपुर जिल्ला समाज युकेद्वारा नवलपुरको पहाडी क्षेत्रमा पर्ने २ वटा गाउंपालिकाका ४५ घर बाढी प्रकोप प्रभावित तथा विपन्न परिवारलाई राहत हस्तान्तरण गरेको छ । यस वर्ष बाढी पहिरोमा मृत्यु भएका बुलिङ्गटार डांडाझेरीका २ घर परिवारलाई ४० हजार, बौंदीकालीका घरवार विहिन २ विपन्न परिवारलाई १० हजारका दरले र अन्य सवैलाई ५ हजारको दरले नगद राहत सहयोग प्रदान गरेको नवलपुर जिल्ला समाज युकेका उपाध्यक्ष मिना सापकोटाले जानकारी दिनुभयो ।

राहत रकम ग्रहणपश्चात बौंदीकाली–१ का उमा परियारले आफ्नै बारीमा सानै भएपनि घर बनाएर बस्ने योजना सुनाउनुभयो । २ छोराछोरी रहेको उमाको ५ वर्ष देखि श्रीमान सम्पर्क नभएको र घर नभएकाले आफन्तको गोठमा बस्नुपर्ने बाध्यता रहेको पिडा पोख्नुभयो । बुलिङ्गटार–६ अत्रौलीमा आज भएको राहत हस्तान्तरण कार्यक्रममा बोल्दै बौंदीकाली गाउंपालिका अध्यक्ष दुर्गा बहादुर रानाले पहाडी क्षेत्रलाई माया गरेर नवलपुर समाज युकेले बाढी पहिरो प्रभावित र विपन्न परिवारलाई राहत उपलब्ध गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत सहयोगको निरन्तरताको अपेक्षा व्यक्त गर्नुभयो । गाउंपालिकाले विपन्न परिवार सहयोग कार्यक्रम अन्तरगत खरको छानो भएका परिवारलाई टिन उपलब्ध गराउने योजना सुनाउंदै हरेक नागरिकलाई बाच्न पाउने अधिकारको सुनिश्चितता गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
बुलिङ्गटार गाउंपालिकाका अध्यक्ष शसिकिरण वास्ताकोटीले आफूले श्रम गरेर कमाएको रकम संकलन गरि अक्सर अरुको नजर नपर्ने पहाडी क्षेत्रबासीलाई सम्झेर सहयोग गर्नुभएकोमा आभार व्यक्त गर्नुभयो । आफूले युकेमा रहेर कार्य गरेको अनुभव सुनाउंदै नवलपुर समाज युकेले मातृभूमिलाई सम्झेर सघाउनु नै आफैैमा महत्वपुर्ण रहेको अध्यक्ष बास्ताकोटीले बताउनुभयो । राहत लिएर सहि ठाउंमा सदुपयोग गर्न आग्रह गर्दै प्रभावितहरुको समस्यामा गाउंपालिकाले समेत थप सघाउने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

नवलपुर जिल्ला समाज युकेका सल्लाहकार टिकाराम सापकोटाले शहरी क्षेत्रमा अन्य दातृ निकायहरुको पनि सहयोग रहने र पहाडी क्षेत्रमा कमैको नजर पर्ने भएकाले पहाडी २ गाउंपालिकालाई छनौट गरेको बताउनुभयो । सहयोग रकम कुनै च्यारिटेवल फण्ड, दातृ निकायको सहयोग नभएर नवलपुरबाट युके गएकाहरुको व्यक्तिगत संकलन गरेको रकम रहेको जानकारी दिनुभयो ।

राहत वितरण तथा समन्वयका लागि जिल्ला समन्वय समितिका अध्यक्ष चेसराम आले, पृुर्व क्षेत्रीय निर्देशक खडग बहादुर कमाल र रेडक्रसकर्मी तथा पत्रकार केबी राना सहितको ३ सदस्यीय समिति गठन गरेका थिए ।
राहत वितरण कार्यक्रममा २ गाउंपालिकाका प्रमुख, बुलिङ्गटार–३ का वडाअध्यक्ष यम बहादुर झेंडी, वडा नम्बर ६ का अध्यक्ष सुर्य बहादुर राना, कार्यपालिका सदस्य कुल बहादुर कुमाल, वडा सदस्य वडा बौंदीकाली–३ का वडाअध्यक्ष यम बहादुर ठाडा, शिव मावि अत्रौलीका प्रधानाध्यापक ओम श्रेष्ठ, सेतीनाग मावि अर्खलाका प्रधानाध्यापक खेम बहादुर सुस्लिङ्ग, रामशाह आधारभुत विद्यालय, भारतीपुरका निमित्त प्रधानाध्यापक रामजी श्रेष्ठ, वडा सदस्यहरु, समाजिक संघ संस्थाका अगुवाहरुको समेत सहभागीता रहेको थियो ।  नवलपुर जिल्ला समाज युकेका उपाध्यक्ष मीना सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रम राहत वितरण समन्वय समितिका सदस्य केबी रानाले सहजिकरण गर्नुभएको थियो ।

यसैविच नवलपुर जिल्ला समाज युकेका अध्यक्ष बौंदीकाली–३ घरभई हाल युकेमा रहनुभएका ईन्द्रजित सारु मगरले नेपाली भाषा, कला, संस्कृतिको संरक्षणसंगै आफ्नो जन्मृभूमिमा भएका हरेक सुख दुखमा सगैं रहेको जानकारी दिंदै आगामी दिनमा समेत सक्दो सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको छ ।

प्रकाशित : २०७७ पुष १८ गते २०:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI