वार्डेनकै सरुवा गराईदिने “मकुना”

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष २१ गते १६:४१
वार्डेनकै सरुवा गराईदिने “मकुना”

इनरुवा, २१ पुस । कोशी टप्पुको रैथाने हात्ती ‘मकुना’ नियन्त्रणको प्रयास भैरहँदा आरक्षका संरक्षण अधिकृतको भने सरुवा भएको छ । आरक्ष कार्यालयमा आएको तीन महिनाको अवधिमै वार्डेन चन्द्रशेखर चौधरीको सरुवा भएको छ ।

मकुनाको आक्रमणमा परी कटान क्षेत्रका दुई स्थानीयको केहि दिनको अन्तरालमा मृत्यु भएसँगै उठेको हात्ती नियन्त्रणको सवाल र चर्कदै गएको विवादका बिच वार्डेन चौधरीको सरुवा हुनुलाई यतिबेला चासोका रुपमा हेरिएको छ । उक्त घटनाक्रमलाई आरक्ष क्षेत्र आसपासका सरोकारवालाहरुले संयोगका रुपमा मात्रै लिन नसकिने बताएका छन् ।

चौधरीको खप्तड राष्ट्रिय निकुञ्ज सरुवा भएको छ । कोशी टप्पुमा भने यसअघि वार्डेन रही सकेका अशोक राम पूनः दोहोरिएका छन् । नयाँ वार्डेनका रुपमा कोशी टप्पुमा आएका राम हात्ती विषयको विज्ञ मानिन्छन् ।

उनी सो विषयका जानकार र विज्ञ भएकाले समेत चौधरीको स्थानमा उनलाई कोशी टप्पु पठाइएको बुझिएको छ ।
आरक्ष कार्यालयका कर्मचारीका अनुसार आसपासको क्षेत्रमा मकुनाको आक्रमण बढ्दै जाँदा चिकित्सक र प्राविधिक सहितको टोलीसँगै नयाँ वार्डेनका रुपमा राम कोशी टप्पु आएका हुन् । उनले जिम्मेबारी समेत सम्हाली सकेका छन् ।

 

आरक्ष स्रोतले दिएको जानकारी अनुसार वार्डेन चौधरीको सरुवा हुनुमा मकुना हात्ती प्रमुख कारकको रुपमा रहेको छ । हात्ती नियन्त्रणको विषयमा चालेको कदमकै कारण वार्डेन चौधरीको सरुवा भएको अधिकांशको बुझाई छ ।

एक कर्मचारीले भने, ‘हात्ती बौलायो भन्दै स्थानीय गाउँवासी र स्वयं जनप्रतिनिधिले मार्नु पर्छ भन्ने आवाज उठाए । प्रत्यायोजन गरिएको ऐनलाई टेकेर सिडियो फणिन्द्रमणि पोखरेलले समेत हात्ती मार्ने निर्णय लिनु भयो । सर्वपक्षीय भेलाको निर्णय आरक्षको तर्फबाट पटक पटक बिभाग पठाइयो । दुर्भाग्य ! वार्डेनकै सरुवा भयो’ ।

नाम खुलाउन नचाहने कर्मचारीहरु हात्ती मार्ने विषय मिडियाका साथै सर्वत्र चर्को रुपमा उठेपछि बिभागले आरक्षका प्रमुख संरक्षण अधिकृतको सरुवा गराएको दाबी गर्छन् ।

स्थानीय कर्मचारीका अनुसार वार्डेनका रुपमा रहँदा चौधरीले बिभागमा हात्तीको वितण्डा र क्षति बढेको ठहर सहित मकुनालाई नेल लगाउनु पर्ने र आवश्यकता हेरी थप निर्णय लिनु पर्ने सम्मको आशययुक्त पत्र पठाउने गरेका थिए ।

कार्यालय स्रोतका अनुसार वार्डेनले स्थानीयको माग र प्रशासनको निर्णय अनुरुप माथिल्लो निकायमा परिपत्र गर्ने गरेको भएतापनि मकुनाको विषय उठेसँगै सो सम्वन्धमा ठोस निर्णय लिन नसकेको जस्ता आरोप भने उनले झेल्दै आएका थिए । सोही विषय उनको सरुवाको प्रमुख कारण बनेको उनीहरुको ठम्याई छ ।

उता कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालयबाट सरुवा भएका चन्द्रशेखर चौधरीले आफैंले अन्यत्र सरुवा मागेको बताएका छन् । उनले आफ्नो सरुवालाई स्वभाविक प्रकृयाको रुपमा लिएको बताए ।

जाँदाजाँदै चौधरीले भने, ‘मकुना लामो समयदेखि झुण्ड छोडेर एक्लै बस्दै आएको जँगली हात्ती हो । उक्त हात्ती बदमास भैसकेको छ । जो राती वस्ती छिर्छ र क्षति पुर्याउँछ । विहान झिसमिसे उज्यालोसँगैजंगलमा आएर लुक्छ ।

नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गर्न तर्फ आरक्षले ध्यान दिन जरुरी छ । यता कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालयमा प्रमुख संरक्षण अधिकृतका रुपमा आएका अशोक रामले आफु हात्ती नियन्त्रणको सवालमा दिनरात नभनी लागिपरेको बताए । उनले सोलार फेन्सिङ मजबुत गर्ने देखि निरन्तर विद्युत प्रवाहको व्यवस्था मिलाउन २४सैं घण्टा खटिने गरी कर्मचारी परिचालन गरि सकिएको बताए ।

उनले हात्तीको हाउभाउ बुझेर आवश्यक्ता अनुसार उपचार गर्ने र आरक्ष बाहिर प्रवेश रोक्न प्रभावकारी बन्दोवस्ती सहितको सुरक्षा गस्ती बढाइएको बताए । वार्डेन रामले मकुनाको पछाडी निरन्तर रहने गरी गस्ती टोली समेत खटाई सकिएको बताए । उनले हात्ती धपाउन र आरक्ष भित्रै राख्न सुरक्षा प्रबन्ध सहित आवश्यक स्रोत साधन जुटाइएको समेत जानकारी दिए ।

आरक्षको कार्यालयले मकुनाकै प्रयोजनको लागि छुट्टै गाडी सहितको गस्ती र ट्याक्टर स्टेण्डवाई राखिएको जनाएको छ । प्रमुख संरक्षण अधिकृत अशोक रामले मकुनाको हाउभाउ बुझी सोही अनुरुप नियन्त्रण तथा उपचारको प्रवन्ध मिलाउदै जनधनको क्षति रोक्नु आफ्नो प्रमुख दायित्व रहने बताएका छन् ।

प्रकाशित : २०७७ पुष २१ गते १६:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI