No ads found for this position

प्रधानमन्त्री ओलीसँग अब साईबर सेना

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष २४ गते ८:२८
No ads found for this position
No ads found for this position

२३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरुको गतिविधि र उनीहरुले सामाजिक सञ्जालमा प्रकट गर्ने अभिव्यक्तिले अनेक किसिमका संज्ञा पाउने गरेका छन् ।

दुईतिहाइ नजिकको संसदीय बहुमतसहित ओली प्रधानमन्त्री बनेपछि उनका समर्थकहरूका लागि प्रयोग हुने चल्तीका शब्दहरू हुन्– अरिगांल । ओलीको प्रतिरक्षामा उत्रने समर्थकहरुका लागि ‘हनुमान’ र ‘अरिगांल’ शब्द प्रयोग सामान्य बनेकोमा केही दिन अगाडि पूर्वगृहमन्त्री भीम रावलले आफूलाई ओलीका ‘साइबर सेना’ले बद्नाम गराउन खोजेको अभिव्यक्ति दिए । त्यसपछि नेकपा ओली समूहका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले ‘साइबर सेना’ बन्ने/बनाउने घोषणा नै गरे ।

मंगलबार म्याग्दीको बेनी पुगेका बस्नेतले अब वाईसीएल वा युथ फोर्स होइन, साइबर सेना बन्ने बताउँदै आफ्ना पक्षका कार्यकर्तालाई जिल्ला तहमा त्यस्को संरचना बनाउन निर्देशन पनि दिए । म्याग्दीपछि पुगेको अन्य जिल्लामा पनि उनले यस्तै निर्देशन दिएका छन् ।

बस्नेतले पार्टीले बनाउन लागेको साइबर सेना युवा संघको विभागीय संरचनाको रुपमा रहने बताए । पार्टी संरचनामै राखिने साइबर सेनाले पार्टी नेता–कार्यकर्ताबिरुद्व सिर्जना गरिएको भ्रमलाई जोडदार रुपमा चिर्ने उनले बताए । उनले भने, ‘पार्टी केन्द्र र युवा संघका अध्यक्षले खटाएको युवा इन्चार्जबाट साइबर सेना सञ्चालित हुनेछ ।’

अर्थात्, नेकपा विभाजन अघिको राष्ट्रिय युवा संघका इन्चार्ज बस्नेत र पार्टी विभाजनपछि युवा संघको नेतृत्व गरिरहेका रमेश पौडेलले साइबर सेना परिचालन गर्नेछन् ।

केपी ओलीले गरेको राम्रो काम नदेख्ने तर, नगरेको नराम्रो कामको प्रचार गर्ने प्रवृत्तिबिरुद्ध यो सेनाको कल्पना गरिएको पौडेलले बताए । ‘मूलधारको सञ्चार माध्यमहरुले समेत सरकारलाई साथ दिएनन्’, उनले भने, ‘त्यसैले, जनतामा सही सूचना पुर्‍याउन साइबर सेनाको परिकल्पना गरियो ।’

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त रहँदा लोकमानसिंह कार्की र नेपाल प्रहरीको महानिरीक्षक हुँदा सर्वेन्द्र खनालले साइबर सेनाको अभ्यास गरेको आरोप लागेको थियो । पार्टी संरचनाबाटै साइबर सेना बनाउन लागिएको चाहीँ यो नै पहिलो पटक हो ।

प्रकाशित : २०७७ पुष २४ गते ८:२८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI