पृथ्वीनारायणलाई सम्झिदा सरकारले लखेट्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष २७ गते १६:२७
पृथ्वीनारायणलाई सम्झिदा सरकारले लखेट्यो

काठमाडौ । पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्तीमा काठमाडौंका ठाउँठाउँमा र्‌याली तथा जुलुश निकालिएको थियो।

राजतन्त्रको वलकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिसमशेर राणालगायतले र्‌यालीको नेतृत्व गरेका थिए भने एउटा र्‌यालीको नेतृत्व नायिका मनिषा कोइरालाले गरेकी थिइन्।

सबै र्‌यालीको गन्तव्य भने एउटै थियो–सिंहदरबार अगाडीको पृथ्वीनारायण शाहको शालिक।

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिको आह्वानमा र्‌याली निकालिएको थियो।

अभियानमा कोइरालाका साथै पूर्वप्रहरी रमेश खरेल, नेता भरत बस्नेत नेकपा मालेका संयोजक सिपी मैनाली, अधिवक्ता सुरेन्द्र भण्डारीहरू पनि आयोजक समितिमा थिए।

शान्तिबाटिकामा मनिषा कोइराला, गुरु बशिष्ठलगायतका अन्य विशिष्ट व्यक्तिले शाहको फोटोमा माल्यार्पण गरेपछि झाँकी, पञ्चेबाजासहित र्‌याली बागबजार, पुतलीसडक, भृकुटीमण्डप हुँदै भद्रकाली पुग्यो।

आयोजक समितिले शाहको मुर्तीमा चढाउन १ सय ८ फिटको माला बनाएको थियो।

भद्रकालीमा प्रहरी सशस्त्र प्रहरीको पहरा थियो।

उनीहरुले प्रदर्शनकानरीलाई मूल सडकबाट अगाडी बढ्न नदिँदा प्रहरीसँग घम्साघम्सी भयो।

राप्रपाका अध्यक्ष पशुपतिसमशेर जबरा पनि प्रहरीसँगको त्यो धकेलाधकेलमा परे।

प्रहरीको लाठी लागेर एक महिला घाइते भइन्। उनलाई एम्बुलेन्समा अस्पताल पठाइयो।

घम्साघम्सीमा १ सय ८ फिटको माला चुँडियो।

फुलहरु सडकमै छरपस्ट भए।

र्‌यालीका सहभागीले प्रहरी प्रशासनको दमन बन्द गर् भन्दै नाराबाजी समेत गरे।

र्‌यालीमा राजतन्त्र जिन्दावाद लगायतका नारा पनि लागिरहे।

प्रहरीले बीच सडकबाट नभई पेटीबाट अगाडी बढ्न भनेपछि झडप भएको थियो।

नायिका मनिषा कोइरालाले सिंहदरबार अघि रहेको शाहको शालिकमा माला चढाउँदै श्रद्धाञ्जली व्यक्त गरिन् तर, केही बोलिनन्।

मालेका संयोजक सिपी मौनालीले बाह््य शक्ति हावी भएको भन्दै देश बचाउन राष्ट्रिय एकताको आवश्यकता भएको बताए।

‘देश बर्बादीतर्फ जादैँछ देश विकास सबै मिलेर गर्ने हो’, मौनालीले भने, ‘राष्ट्र जोगाउने जिम्मेवारी आयो, देशभक्तले देश जोगाउनुपर्छ।’

त्यहीँ भेटिएका ७० वर्षीय लक्ष्मीप्रसाद प्रसाईले राष्ट्र निर्माताको शालिकमा माला चढाउन जाँदा सरकारले लखेटेको बताए।

‘हामी न आन्दोलनमा आएका हौँ न कसैको विरोध गर्न, तर पनि सरकारले प्रहरी लगाएर लखेट्न खोज्यो’, उनले भने।

प्रकाशित : २०७७ पुष २७ गते १६:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI