भरतपुर अस्पतालमा आँखाको उपचार सुरु

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ ६ गते १८:०८
भरतपुर अस्पतालमा आँखाको उपचार सुरु

चितवन । भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट सुरु गरिएको छ ।

अस्पतालमा आँखा रोग विभागको शुभारम्भसँगै सो सेवा सुरु गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी र निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा जगन्नाथ तिवारीले संयुक्त रुपमा विभागको शुभारम्भ गरेका हुन् ।

सो अवसरमा अध्यक्ष डा अधिकारीले अन्य रोगको उपचार हुँदै गर्दा आँखाको उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यता अब हटेको बताए । राजधानी बाहिरको सुविधा सम्पन्न अस्पतालको रुपमा भरतपुर अस्पताल अघि बढेको भन्दै उनले संघीय अस्पताल भएकाले यस अस्पतालको जिम्मेवारी बढी भएको बताए ।

निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा तिवारीले मधुमेह, उच्च रक्तचापलगायतका बिरामीको आँखाको सामान्य उपचारका लागि बिरामी बाहिर जानुपर्ने बाध्यता हटेको बताए । उनले भने, “अहिले साधारण सेवाबाट सुरु गर्छौँ, पछि विशिष्ट सेवा दिन्छौँ ।” हाल शल्यक्रियाबाहेक सबै सेवा उपलब्ध हुने उहाँले बताए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार विभागमा दुई जना विशेषज्ञ चिकित्सकसहित प्राविधिक समूह रहेको छ । पौडेलले अस्पतालको १३औँ विभागको रुपमा आँखा विभाग स्थापना भएको बताए ।

यस अस्पतालमा चितवनसहित आसपासका १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । प्रसूति सेवाका लागि राजधानी बाहिरको उत्कृष्ठ अस्पतालको रुपमा भरतपुर अस्पताललाई लिने गरिन्छ ।

प्रकाशित : २०७७ माघ ६ गते १८:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI