अरिंगाल र झुसिल्किराले केही गर्न सक्दैनन् : माधव नेपाल

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ ६ गते १९:०९
अरिंगाल र झुसिल्किराले केही गर्न सक्दैनन् : माधव नेपाल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले अरिंगाल र झुसिल्किराले केही गर्न नसक्ने बताएका छन् ।  सत्य र न्यायको पक्षमा आफूहरु रहेको भन्दै नेता नेपालले सरकारले साइबर सेना सक्रिय पारे पनि सत्य आफ्नै पक्षमा रहेको भन्दै यस्तो बताएका हुन् । मंगलबार नेकपाको प्रचण्ड–नेपाल समूह निकट पत्रकारको भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

‘अरिंगालको गोला र झुसिल्किराले केही गर्न सक्दैनन्’, नेपालले भने, ‘सत्य र न्याय हाम्रो पक्षमा छ ।’

संघीयता नै संकटमा पुगेको अवस्थामा सही र गलत छुट्याउनुपर्नेमा उनले जोड दिए । उनले सत्यको पक्षमा उभिने असल नेता हुने भन्दै परिवर्तनको रक्षा साझा दायित्व भएको बताए ।

उनले अहिलेको आन्दोलनले सुन्दर समाजको परिकल्पना गरेको भन्दै यसमा पत्रकारको सकारात्मक भूमिका आवश्यक भएको बताए ।

प्रेस संगठन, नेपालको राष्ट्रिय भेलालालाई सम्बोधन गर्दै नेपालले असली एमाले आफू भएको दाबीसमेत गरेका छन् । उनले नेकपा बनेपछि एमाले र माओवादी कोही नरहेकोसमेत प्रष्ट पारे ।

‘ओरिजिनल एमाले माधव नेपाल हो, केपी ओली होइन । तर अब एमाले र माओवादी कोही छैन । सबै नेकपा भैसकेको छ’, उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले ओली गणतन्त्र र संघीयता विरोधी भएको बताए ।  ‘भ्रममा नपर्नुहोस् केपी ओली प्रतिगमनका प्रतिक हुन् । अग्रगमनका होइनन्’, नेपालले भने, ‘उनको एकलवाद, अहंकार, दम्भी र संवैधानिक कदमका विरुद्ध सिंगो देश आन्दोलित छ ।’

प्रकाशित : २०७७ माघ ६ गते १९:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI