अमेरिकाका ४६ औं राष्ट्रपति बाइडेनको शपथ आज, संसद् भवनमा २० हजार बढी सैनिक तैनाथ !

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ ७ गते ७:३७
अमेरिकाका ४६ औं राष्ट्रपति बाइडेनको शपथ आज, संसद् भवनमा २० हजार बढी सैनिक तैनाथ !

एजेन्सी, ७ माघ । अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा आज (जनवरी २० तारिख) ७८ वर्षीय जो बाइडेन र र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले शपथ ग्रहण गर्दैछन् । स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह आयोजना हुनेछ ।

नेपाली समयअनुसार आज राति १० बजेर १५ मिनेटमा शपथ-ग्रहण गरेपछि उनीहरूको कार्यकाल सुरु हुनेछ । पदभार ग्रहण गरेसँगै बाइडेन अबको ४ वर्षसम्म ह्वाइट हाउसको निवासमा बस्नेछन् ।

 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नव निर्वाचित राष्ट्रपति जो बाइडेनले जम्मा ३५ शब्दको शपथ खाने छन् । यस पटक कोरोना महामारीका कारण अमेरिकाको राष्ट्रपति शपथ ग्रहण समारोह अघिल्ला वर्षमा जस्तो भव्य हुने छैन ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले अमेरिकाको संसदमा आक्रमण गरेपछि सत्तारोहण समारोहमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । आज वासिङ्टन डिसीका धेरैजसो ठाउँहरु बन्द हुने भएका छन् ।

बाइडेनले शपथ ग्रहण गर्नुअगाडि नै अमेरिकी संसद् भवन वरपर २० हजारभन्दा बढी सैनिक तैनाथ गरिएका छन् । अमेरिकाको सत्तामा बाइडेन भित्रिएसँगै आजदेखि डोनाल्ड ट्रम्प भने ४ वर्षे कार्यकाल सकेर बाहिरिँदै छन् ।

यसपालिको समारोहमा हजारदेखि १२ सय जनासम्म मानिसस सहभागी हुनेछन् । त्यो पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर । अर्काे कुरा यो नै पहिलोपटक हो, आफ्ना राष्ट्रपतिको शपथ समारोह अमेरिकाले खतरा महसुस गरेको हो । किनकि बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारेर पनि सहज रूपमा स्वीकारेनन् भने आफ्ना समर्थकद्वारा हालै अमेरिकी संसद् भवनमै आक्रमण गराए । जसमा एक प्रहरीसहित ५ जनाको मृत्यु समेत भयो ।

प्रकाशित : २०७७ माघ ७ गते ७:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI