कागजपत्र पुगेका २६ हजारभन्दा बढीले कोरोना बिमाको भुक्तानी पाएनन्

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ ७ गते ७:४५
कागजपत्र पुगेका २६ हजारभन्दा बढीले कोरोना बिमाको भुक्तानी पाएनन्

कोरोना बिमाको दाबी गरेका २६ हजारभन्दा बढीले सम्पूर्ण कागजपत्र पूरा गरे पनि दाबी भुक्तानी पाएका छैनन् । बिमा समितिको तथ्यांकअनुसार कोरोना बिमा पुलमा ५१ हजार ७ सय १७ वटा कोरोना बिमा दाबीको फाइल पुगेको छ । कागजपत्र पुगेका दाबी मात्र निर्जीवन बिमा कम्पनीहरूले बिमा पुलमा पठाउने गर्छन् । पुलमा पुगेको बिमा दाबी संख्यामध्ये २६ हजार ४ सय ४ वटा दाबीको अझै भुक्तानी नै भएको छैन ।

समितिका अनुसार ३ हजार ७ सय ३९ वटा दाबी प्रमाणीकरणको प्रक्रियामा छन् । ८ हजार ४० वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा भेरिफाईका लागि अड्किएका छन् । ७ सय ४७ वटा दाबीका फाइल महाशाखामा पठाउनका लागि तयारी अवस्थामा छन् । त्यस्तै, २ हजार ७ सय २१ वटा दाबी कम्पनीहरूमा फिर्ता गरिएको छ । कागजपत्र पूरा नभएका कारण दाबी फाइल फर्काइएको समितिले जनाएको छ । १ सय ८३ वटा दाबी दोहोरो भएका कारण दाबी नलाग्ने भएका छन् भने १० हजार ९ सय ७४ वटा दाबी प्रक्रियामा नै रहेको समितिले जनाएको छ ।

 ६ महिनादेखि भुक्तानी पाएनन् बिमितले
वीरगन्जका नवराज फुँयालले गत भदौमा गरेको कोरोना बिमा दाबीको भुक्तानी अहिलेसम्म पाएका छैनन् । फँुयालले गत असारमा युनाइटेड इन्स्योरेन्समा पूरै परिवारको प्रतिव्यक्ति १ लाख रुपैयाँको कोरोना बिमा गरेका थिए । गत ४ भदौमा कोरोना परीक्षण गर्दा उनलाई पोजेटिभ देखियो ।

होम आइसोलेसनमा नै रहँदा उनले ७ भदौमा युनाइटेड इन्स्योरेन्समा बिमा दाबी गरेका थिए । दाबी गरेको केही महिनापछि कम्पनीले पिसिआर रिपोर्टमा हस्पिटलको पनि छाप चाहियो भनेर सम्पर्क गरेको उनले बताए । त्यसपछि उनले कम्पनीले माग गरेबमोजिमको कागजपत्र पनि बुझाए । तर, अहिलेसम्म कम्पनीले दाबी भुक्तानी नगरेको उनले गुनासो गरे ।

पोखराका सुरेन्द्र थापालाई गत असोज २५ गते कोरोना पोजेटिभ देखियो । उनले कार्यालयमार्फत युनाइटेड इन्स्योरेन्समा ५० हजार रुपैयाँबराबरको कोरोना बिमा गरेका थिए । कोरोनाबाट पूर्ण रूपमा मुक्त भएपछि उनले गत मंसिरमा कार्यालयमार्पmत नै दाबी प्रक्रिया अगाडि बढाए । तर, अहिलेसम्म भुक्तानी नपाएको उनले गुनासो गरे ।

भक्तपुरकी प्रतिभा श्रेष्ठलाई पनि गत असोज २ गते कोरोना पोजेटिभ देखियो । उनको कार्यालयले नेपाल इन्स्योरेन्स कम्पनीमा १ लाख रुपैयाँबराबरको कोरोना बिमा गराइदिएको थियो । त्यसैले गत असोजमा नै उनले कार्यालयमार्फत कोरोना बिमाको प्रक्रिया सुरु गरिन् । तर, अहिलेसम्म कम्पनी दाबी भुक्तानी नदिएको उनले बताइन् । त्यति मात्रै होइन, कम्पनीले कागजपत्र पुगे–नपुगेको विषयमा पनि जानकारी नगराएको उनले बताइन् ।

 २५ हजारले पाए कोरोना दाबी भुक्तानी
निर्जीवन बिमा कम्पनीहरूले करिब २५ हजार कोरोना बिमा दाबीको भुक्तानी गरेको छ । बिमा समितिको तथ्यांकअनुसार गत पुसको अन्तिमसम्ममा कागजपत्र पूरा भएका दाबीमध्ये २५ हजार ३ सय १३ को दाबी भुक्तानी भएको जनाएको छ । सो दाबी संख्याबापत कम्पनीहरूले २ अर्ब ४६ करोड रुपैयाँ भुक्तानी गरेका छन् ।

विश्व महामारीका रूपमा फैलिएको कोरोना संक्रमणको जोखिमविरुद्ध बिमा समितिले गत वैशाख पहिलो सातादेखि कोरोना बिमा पोलिसी सञ्चालनमा ल्याएको हो । बिमा कम्पनीहरूले अपेक्षा गरेविपरीत नेपालमा कोरोना संक्रमण बढ्न थालेपछि कम्पनीहरूले दाबी भुक्तानीमा आनाकानी गर्दै आएका थिए । तर, अर्थ मन्त्रालयले कागजपत्र पुगेको तीन दिनभित्रमा अनिवार्य रूपमा दाबी भुक्तानी गर्न निर्देशन दिएपछि भने कम्पनीहरूले भुक्तानी प्रक्रिया तीव्र पारेका हुन् ।

 तीन दिनभित्र भुक्तानी गर्र्ने अर्थको निर्देशन अझै कार्यान्वयन भएन 
कोरोना बिमा दाबीका लागि कागजपत्र पुगेको तीन दिनभित्रमा दाबी भुक्तानी गर्न अर्थ मन्त्रालयको निर्देशनलाई निर्जीवन बिमा कम्पनीहरूले अझै कार्यान्वयन गरेका छैनन् । मन्त्रालयको निर्देशनपछि तुलनात्मक भुक्तानी प्रक्रिया तीव्र भए पनि ६ महिनादेखि बिमितहरूले दाबी भुक्तानी नपाएको गुनासो गरेका छन् ।

यद्यपि, बिमा समितिले भने ५० प्रतिशतभन्दा बढी दाबीको भुक्तानी भइसकेको दाबी गरेको छ । कोरोना बिमा पुलमा आइपुगेका दाबीमध्ये आधाको भुक्तानी भइसकेको बिमा समितिका प्रमुख कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘अन्य दाबीहरू पनि प्रक्रियामा छन् । भुक्तानी प्रक्रिया अगाडि बढेको छ,’ उनले भने ।

बिमा समितिले १ लाख र ५० हजार रुपैयाँ बिमांक रकमबराबरको कोरोना बिमा सञ्चालनमा ल्याएको हो । १ लाख रुपैयाँसम्मको बिमालेखअन्तर्गत कम्पनीहरूले बिमा गर्दा प्रतिव्यक्ति १ हजार रुपैयाँ र परिवारको गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ बिमाशुल्क कायम गर्नुपर्नेछ ।

त्यस्तै, ५० हजार रुपैयाँ बिमांक रकमबराबरको बिमा गर्दा प्रतिव्यक्ति ५ सय र परिवारको गर्दा ३ सय रुपैयाँ बिमाशुल्क कायम गर्नुपर्नेछ । सामूहिक रूपमा कोरोना बिमा गर्दा सरकारले ५० प्रतिशत अनुदानको समेत व्यवस्था गरेको छ । त्यस्तै, चालू आवको बजेटमार्फत सरकारले राष्ट्र सेवकका लागि कोरोना बिमा निःशुल्क गरेको छ ।

कोरोना बिमाको दाबी भुक्तानीमा निर्जीवन बिमा कम्पनीहरूले आनाकानी गर्न थालेपछि अर्थ मन्त्रालयले गत १८ कात्तिकमा सात दिनभित्र दाबी भुक्तानी गर्न निर्देशन दिएको थियो । अर्थ मन्त्रालयको निर्देशनलाई अटेर गरेपछि गत मंसिर १८ मा अर्को निर्देशन जारी गर्दै अर्थ मन्त्रालयले कागजपत्र पुगेको तीन दिनभित्र दाबी भुक्तानी गर्न निर्देशन दिएको थियो ।- नया पत्रीका दैनिकमा खबर छ ।

प्रकाशित : २०७७ माघ ७ गते ७:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI