आज कांग्रेसको ६७४३ वडामा विरोध प्रदर्शन, घरघरबाट ऐक्यबद्धता जनाउन देउवाको अपिल

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ ८ गते ७:३५
आज कांग्रेसको ६७४३ वडामा विरोध प्रदर्शन, घरघरबाट ऐक्यबद्धता जनाउन देउवाको अपिल

संसद् विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख कदमको रूपमा व्याख्या गरेको कांग्रेसले बिहीबार देशका सबै वडामा ¥याली र सभा गरेर विरोध गर्दै छ । देशभरका ६ हजार सात सय ४३ वटै वडामा कांग्रेसले एक साथ संसद् विघटनको विरोध गर्न लागेको हो ।

सभापति शेरबहादुर देउवाले हरेक घरघरबाट सहभागी भएर प्रतिनिधिसभा विघटनविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै देउवाले भनेका छन्, ‘संविधानमा भएको व्यवस्थाप्रतिकूल, जनभावनाविपरीतको कार्यविरुद्ध कांग्रेस एकमत छ, आजको वडास्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन म सबैमा हार्दिक अपिल गर्दछु ।’

यस्ता विरोध कार्यक्रममा कोभिड– १९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासन, भ्रष्टाचार र प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारी प्रवृत्तिको भण्डाफोर गर्न कांग्रेसले तल्ला निकायलाई निर्देश गरेको छ ।

१९ पुसमा बसेको केन्द्रीय समिति बैठकले दोस्रो चरणअन्तर्गत २५ पुसका साथ ३ र ८ माघका लागि विरोधका कार्यक्रम तय गरेको थियो । कांग्रेसले २५ पुसमा तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा तथा ३ माघमा सात सय ५३ पालिकामा विरोध प्रदर्शन गरिसकेको छ । त्यसअगाडि कांग्रेसले १३ पुसमा एक सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।

प्रकाशित : २०७७ माघ ८ गते ७:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI