एसिडपीडित दुईजनालाई आयल निगममा एक वर्षका लागि रोजगारी

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ ९ गते ९:३१
एसिडपीडित दुईजनालाई आयल निगममा एक वर्षका लागि रोजगारी

नेपाल आयल निगमले एसिडपीडित दुईजनालाई करारमा रोजगारी दिएको छ । निगम प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार नवलपरासी अग्यौली  निवासी वसन्ती परियार र ओखलढुंगाको फूलबारी–३ स्थायी घर भई हाल काठमाडौंको सीतापाइला बस्ने पवित्रा कार्कीलाई सहायकस्तरमा रोजगारी दिएको हो । वसन्तीलाई निगमको लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवामा र पवित्रालाई निगमको बबरमहलस्थित केन्द्रीय कार्यालयमा रोजगारी दिइएको छ । उनीहरू दुवैलाई १६ पुसदेखि लागू हुने गरी एक वर्षका लागि करारमा नियुक्ति दिइएको उपाध्यायले बताए ।

आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुईजना एसिडपीडित नारीलाई रोजगारी प्रदान गरेको बताए । ‘उहाँहरूले रोजगारी दिनका लागि निवेदन दिनेबित्तिकै म सकारात्मक थिएँ । त्यसैले निवेदन दिएको छोटो समयमै सबै प्रक्रिया पूरा गरी उहाँहरूलाई रोजगारी उपलब्ध गराएका छौँ,’ पौडेलले भने ।

वसन्ती र पवित्रालाई निगममा रोजगारी दिलाउन एसिडपीडितका पक्षका अभियान चलाउँदै आएका उज्ज्वलविक्रम थापाले सहयोग गरेका थिए । ‘आयल निगमले तेजाबपीडित दुई चेलीलाई रोजगारी दिएर धेरै राम्रो गरेको छ । म धेरै धन्यवाद दिन चाहन्छु,’ थापाले भने, ‘निगमको यो कदमले दुई चेलीको जीवनमा नै धेरै परिवर्तन आउने देखेको छु ।’ पढाइलेखाइमा कमजोर रहेकी वसन्तीलाई रोजगारीका सबै प्रक्रिया पूरा गराउन भैरहवास्थित निगमको कार्यालयसम्म पुगेर थापाले सहयोग गरेका थिए । उनी तेजाब तथा आगोले शरीर जलेर घाउ भई विभिन्न अस्पतालमा उपचार गर्ने बिरामीलाई नियमित भेट्ने र विभिन्न सहयोग गर्ने तथा सहयोग जुटाउने कामसमेत गर्दै आएका छन् ।

 वसन्ती परियार
श्रीमान् वैदेशिक रोजगारमा रहेका वेला वसन्तीले स्थानीय गाउँमै टेलरिङ गर्दै आएकी थिइन् । लामो समय श्रीमान्विहीन रहेकी उनलाई छिमेकका युवकले गलत नजरले हेर्दै आएका थिए । २६ सेप्टेम्बर २०१८ को रात एक युवकको प्रतिकार गर्दा रिसमा एकपटक छुराले हानेपछि अनुहार र शरीरमा एसिड आक्रमण गरेका थिए । उनको उपचारपछि अहिले जीवन बाँचेको छ । अनुहारको अधिकांश भाग जलेका कारण उनी अहिले घरबाहिर खासै निस्किँदिनन् । एसिडपीडित परिवार भनेर बैंकबाट सहुलियत ऋण लिएर कृषि गर्ने योजना बनाइरहेकी छिन् । वसन्तीले रोजगारी पाए छोराछोरी पढाउन सक्ने हिम्मत गरेकी छिन् ।

 पवित्रा कार्की
ओखलढुंगा स्थायी घर भएकी २२ वर्षीय पवित्रा कार्की काठमाडौंको सीतापाइलास्थित दिदी–भिनाजुसँग बसेर पढ्ने र काम गर्ने गर्दै आएकी थिइन् । भिनाजु आर्मीका सिपाही हुन् । पवित्रा भने एक क्यासिनोको लेखा शाखामा कार्यरत थिइन् । उनी एकाउन्टसम्बन्धी काम गर्थिन् । ६ महिनाअघि उनीमाथि प्रेम नगरेको आरोप लगाउँदै एक युवकले एसिड प्रहार गरेका थिए । तर, संयोगवश उनको दाहिने भागमा मात्र एसिडले असर गरेका कारण अनुहार जोगिएको छ । दाहिने भागको माथिल्लो भागतिर कपालले एसिडलाई छोप्ने गरेकी छिन् ।   आजको नयाँ पत्रीका दैनिकमा खबर छ ।

प्रकाशित : २०७७ माघ ९ गते ९:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI