दमनकारी कार्य नदोहोर्‍याउन सरकारलाई नेपाल पत्रकार महासंघको चेतावनी

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १३ गते १३:२५
दमनकारी कार्य नदोहोर्‍याउन सरकारलाई नेपाल पत्रकार महासंघको चेतावनी

काठमाडौँ — प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक तहबाट भएको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएकोमा नेपाल पत्रकार महासंघले भर्त्सना गरेको छ ।

सोमबार नागरिक आन्दोलनअन्तर्गत ‘बालुवाटार मार्च पास’ का क्रममा प्रहरीले लाठी र पानीका फोहरा प्रहार गर्दा वरिष्ठ पत्रकार नारायण वाग्ले, मानव अधिकारकर्मी कृष्ण पहाडीलगायत एक दर्जनभन्दा बढी घाइते भएका थिए ।

महासंघका महासचिव रमेश विष्टले मंगलबार प्रेस विज्ञप्ति जारी गरी शान्तिपूर्ण आन्दोलन गरिरहेकालाई प्रहरीले बर्बर आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

नागरिक आन्दोलनमाथि निर्मम दमन

महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण र स्वतन्त्र रूपमा प्रदर्शनमा उत्रिएका मानव अधिकारवादी र नागरिक अभियन्तामाथि भएको प्रहरीको यो दमन अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्य हो । प्रहरीको यो बर्बर दमनले नागरिकको हकअधिकारमाथिसमेत गम्भीर आघात पुगेको महासंघको ठहर छ । महासंघ सरकारको यो अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्यको कडा शब्दमा भर्त्सना गर्दछ ।’

संविधानले सुनिश्चित गरेको नागरिकको हकअधिकारको रक्षा गर्न, विधिको शासन र कानुनीराजको सम्मान गर्न पनि महासंघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको ।

त्यस्तै महास‌ंघले आगामी दिनमा यस्ता कार्य नदोहोर्‍याउन पनि सरकारलाई चेतवानी दिएको छ । ‘आगामी दिनमा यस्ता दमनकारी कार्य नदोर्‍याउन सरकारलाई चेतावनीसमेत दिन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : २०७७ माघ १३ गते १३:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI