मनाङमा डढेलाेबाट मानव बस्ती जोगाउनै हम्मेहम्मे

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १५ गते १०:५९
मनाङमा डढेलाेबाट मानव बस्ती जोगाउनै हम्मेहम्मे

मनाङ, १५ माघ । मनाङ नासो गाउँपालिकाको थोचेमा मङ्गलबार रातिदेखि लागेको आगो निभाउन सकिएको छैन सकेको छैन ।

आगोले बृहत् रूप लिन थालेपछि बुधबार बिहानैदेखि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली आगो निभाउन दिनभर खटेको थियो । मानव बस्ती भएको वडा नं ६ र ७ को तिल्चे नजिक आगो पुग्न लागेको छ भने वडा नं ५ थोँचे खतरामुक्त रहेको छ ।

आगो मानव बस्ती नजिकै आइपुगेकाले निभाउने प्रयासमा लागेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । आगलागी के कति कारणले भयो भन्ने पत्ता नलागेको उहाँले बताउनुभयो । उहाँले प्रहरी, सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासी मिलेर अग्नि रेखा तयार पारी बस्ती जोगाउने प्रयास गरिरहेको बताउनुभयो ।

हिमाली जिल्ला भए पनि यसपालि हिउँ तथा पानी नपरेकाले सुकेको निगालोको झाडीमा आगलागी भएको छ । धेरै ठूला रुख नजले पनि साना बुट्यान तथा झाडी जलेको छ ।

यो समाचार तयार पार्दासम्म एउटा डाँडो पूरै जलिसकेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो । भिरालो भौगोलिक बनावटका कारण आगो निभाउन कठिन भएको उहाँको भनाइ थियो । आगोको लप्का र ढुङ्गा तातेर फुटेर खस्नाले जोखिम मोलेरै भए पनि १०० जनाको टोली आगो निभाउन खटिइरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले हामी बस्ती जोगाउने प्रयासमा छौँ, बस्तीभन्दा १०० मिटर टाढा मात्रै आगो छ ।’ उहाँले नयाँ दाउराघाँसको आशले स्थानीयवासीले आगो लगाएको हुनसक्ने आशङ्का व्यक्त गर्नुभयो ।

त्यसैगरी अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप० मनाङका प्रमुख लेखनाथ गौतमले प्रतिशोधको हिसाब अथवा व्यक्तिगत फाइदाका लागि आगो लगाइएको हुनसक्ने बताउनुभयो । उहाँले ताचैभन्दा माथिको लेकमा लागेको आगो भौगोलिक विकटताले गर्दा निभाउन गाह्रो परेको बताउनुभयो । गौतमले भन्नुभयो, ‘अहिले पनि हामी आगोसँग आगो जुधाएर नियन्त्रणमा दिने प्रयास गर्दै छौँ ।’ यसैबीच सदरमुकाम चामे नजिकै तलेखुमा लागेको आगो निभाइएको गौतमले जानकारी दिनुभयो ।

यसैबीच थोचे, तिल्चे र ताचैको वनमा आगो दन्कन थालेपछि स्थानीयवासीहरूले त्रसित भएको बताएका छन् । आगलागीसँगै वन विनाश हुँदा महत्वपूर्ण जडीबुटी नष्ट हुने भन्दै उनीहरुले जङ्गली जनावरको बास उठेकोमा चिन्ता व्यक्त गरेका छन् । अग्ला पहाडमा रहेको जङ्गलको आगोले मानव बस्तीलाई जोगाउनुबाहेक निभाउन गर्न कठिन हुने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

मङ्सिर ११ गतेदेखि लागेको आगो पूर्णरूपमा निभाउन नपाउँदै फेरि आगो लाग्नुले मनाङका जङ्गल जलेर सकिने हो कि भन्नेमा पीर परेको स्थानीय वडाध्यक्ष छिरङ घ्ल्पो पुनेलले बताउनुभयो । किन र कसले आगो लगाएको हो भन्नेबारे दोषी पत्ता लगाई हदैसम्मको कारवाही गर्न स्थानीयवासीले माग गरेका छन् ।

प्रकाशित : २०७७ माघ १५ गते १०:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI