प्रहरीले बनायो शंकास्पदहरुको ‘क्लोज रिङ’ ! घटनामा एकै व्यक्ति संलग्नताको आशंका

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २६ गते ११:५२
प्रहरीले बनायो शंकास्पदहरुको ‘क्लोज रिङ’ ! घटनामा एकै व्यक्ति संलग्नताको आशंका

काठमाडौं । बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले शंकास्पदहरुको ‘क्लोज रिङ’ बनाएको छ । प्रहरीका अनुसार विभिन्न तथ्य र सूचनाका आधारमा शंकास्पदहरुको ‘क्लोज रिङ’ बनाइएको छ । घटनामा नजिककै व्यक्तिको संलग्नता हुनसक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

गएको बुधबार विद्यालयबाट फर्कने क्रममा बेपत्ता भएकी भागरथी बिहीबार साँझ लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् । शवको पोस्टमार्टम रिपोर्ट भने प्रहरीले प्राप्त गरिनसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिए ।

प्रवक्ता सिंहका अनुसार सूक्ष्म रुपमा घटनाको अनुसन्धान अघि बढिरहेको छ । उनले भने, “क्लुहरु भेटिएका छन् । छिटै अपराधीसम्म पुग्छौं । विभिन्न कोणबाट अनुसन्धान जारी छ । केही सामग्री अनुसन्धानका लागि विधि विज्ञान प्रयोशालामा पठाएका छौं ।”

भागरथीले भारतीय सीमकार्डसमेत प्रयोग गर्ने गरेको पाइएको छ । सीमा क्षेत्रमा बसोबास गर्दै आएका नेपालीले भारतीय सीमकार्ड प्रयोग गर्दै आएका छन् । भारतमा आफन्तसँग कुरा गर्नका लागि भागरथीले सीमकार्ड राखेको परिवारजनले प्रहरीलाई जानकारी दिएका छन् । कतिपय कुरामा आवश्यक परे भारतीय प्रहरीको समेत सहयोग लिन सकिने प्रवक्ता सिंह बताउँछन् ।

आइतबार पनि घटनास्थलमा केही प्रमाण फेला परेको बताइएको छ । घटनामा एकजनाको संलग्नता हुनसक्ने सम्भावना बढी देखिएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए ।

ती अधिकारीले भने, “अहिले नै पूर्ण यकिनका साथ त भन्न सकिँदैन । तर प्रारम्भिक अनुसन्धानमा घटनामा एकजनाकै संलग्नताको अनुमान हामीले गरेका छौं ।”

प्रहरीले भागरथीको ‘कल डिटेल’लगायत प्राविधिक पक्षको अनुसन्धान सुरु गरेको छ । प्रहरी स्रोतका अनुसार बुधबार भागरथीलाई मोबाइलमा केही कल आएको भए पनि उनले ‘रिसिभ’ र ‘कलब्याक’ नगरेको पाइएको छ । उनीसँगै विद्यालयबाट निस्कँदा चारजना साथी रहेको र घरमा आमा एक्लै छन् भन्दै उनी साथीहरुबाट छुट्टिएर एक्लै हिँडेकी थिइन् । बिहीबार उनी मृत फेला परेकी थिइन् । भागरथीको कपडा च्यातिएको, शरीरमा नीलडाम, घाउ, घाँटी निमोठेको पाइएको छ । शवको प्रकृति हेर्दा भागरथीले अपराधीसँग संघर्ष गरेको देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरुको दाबी छ ।

घटनाको केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धान गरिरहेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोली कञ्चनपुरबाटै बैतडी गएको हो । घटनाबारे जानकारी लिन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदी बैतडी पुगेका छन् । उनले हिजो नै भागरथीको शव भेटिएको स्थानमा पुगेका थिए । उनले अनुसन्धानमा संग्लन टोलीसंग भइरहेको प्रगतीबारे समेत जानकारी लिएका छन् । केहीदिन डीआईजी सुवेदी बैतडीमै रहने बताइएको छ । यो समाचार बार्हखरी अनलाइनमा केशवराज जोशीले लेखेका छ्न ।

प्रकाशित : २०७७ माघ २६ गते ११:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI