अन्तराष्ट्रिय स्कुल अवार्डका लागि योगसम्बन्धित अभिमुखीकरण कार्यक्रम-फोटो फिचरसहित

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन ३ गते १०:३९
अन्तराष्ट्रिय स्कुल अवार्डका लागि योगसम्बन्धित अभिमुखीकरण कार्यक्रम-फोटो फिचरसहित

कावासोती । जनकल्याण माध्यमिक विद्यालय, कावासोती-१, रिठ्ठेपानीमा योगसम्बन्धित अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । फागुन २ गते आइतबार सम्पन्न योगसम्बन्धित अभिमुखीकरण कार्यक्रममा कक्षा ६, ७ र ८का विद्यार्थी तथा अभिभावकहरु सहभागी भएका थिए । ब्रिटिश काउन्सिल, नेपालद्वारा संचालित अन्तराष्ट्रिय स्कुल अवार्डको लागि त्यस विद्यालयका लागि स्वीकृत भएका विभिन्न ८ ओटा परियोजनाहरु मध्ये पहिलो परियोजनामा रहेको ‘योगा फर इम्युनिटी’ अर्थात् आन्तरिक शक्ति विकासको लागि योगको बारेमा विद्यार्थी तथा अभिभावकहरुलाई अभिमुखीकरण दिइएको हो ।

कार्यक्रममा स्वास्थ्य तथा योगको क्षेत्रमा लामो अनुभव भएका विभिन्न स्थानीय विज्ञहरुको उपस्थिति रहेको थियो । मध्यबिन्दु बहुमुखी क्यापस, कावासोतीका स्वास्थ्य तथा शारीरिक शिक्षाका प्राध्यापक तथा योग शिक्षक नरनाथ पाण्डेले ‘योगको माध्यमबाट मानिसको प्रतिरोधात्मक क्षमता कसरी वृद्धि हुन्छ तथा प्राणायामले मानिसमा आउने नकारात्मक विचारलाई कसरी नियन्त्रण गर्छ? भन्ने विषयमामा विद्यार्थीहरुलाई अभिमुखीकरण दिनुभएको थियो । उहाँले दैनिक १ घण्टा नियमित योग अभ्यास तथा १५ देखि २० मिनेटको प्राणायामबाट क्यान्सर, उच्च रक्तचाप, मधुमेह, मानसिक रोग जस्ता नसर्ने रोगहरुका साथै कोभिड -१९ लगायत विभिन्न संक्रामक रोगहरु बाट सजिलै बच्न सकिने बताउनुभयो ।

त्यस्तै कार्यक्रमका अर्का विज्ञ तथा योग प्रशिक्षक पतंजली योग समिति, गण्डकी प्रदेशका महामन्त्री गणेश आचार्यले विद्यार्थीहरुले नियमित गर्नुपर्ने विभिन्न योगाससनहरु विद्यार्थीहरुलाई अभ्यास गराउनु भएको थियो । जनता माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक तथा पतंजली योग समिति, नवलपुरका अध्यक्ष पुरुषोत्तम भुर्तेलले ‘हाम्रो खाना र पोषण’ शिर्षकमा विद्यार्थीहरुलाई अभिमुखीकरण दिनु भयो भने महिला पतंजली योग समिति, नवलपुरका अध्यक्ष कान्ती गिरीले विद्यार्थीका लागि सुक्ष्म व्यायाम अर्थात् फिजियो थेरापीको महत्वको बारेमा प्रकाश पार्दै विद्यार्थीहरुलाई फिजियो थेरापीका अभ्यास समेत गराउनुभएको थियो । त्यस्तैगरी नेपाल प्रहरीका सेवा निवृत पूर्व प्रहरी नायब निरीक्षक(सई) तथा  पतंजली योग समिति, नवलपुरका महामन्त्री प्रेम थापाले ‘योग र अनुशासन’ शिर्षकमा अभिमुखीकरण दिनु भएको थियो ।

कावासोती नगरपालिका र व्रिटिश काउन्सिल, नेपालको संयुक्त सहकार्यमा ‘कनेक्टिंग क्लासरुम्स’ अन्तर्गत अन्तराष्ट्रिय स्कुल अवार्डका लागि कावासोती नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा विभिन्न परियोजना संचालन भैरहेको कावासोती नगरपालिकाका स्रोत व्यक्ति तिर्थराज कंडेलले बताउनु भयो ।  उहाँ भन्नुहुन्छ, “विद्यार्थीहरुले घोकेरभन्दा पनि आफैले अभ्यास गरेर सिक्दा उनीहरुको सिकाइ अझ गहन र दीर्घकालीन हुन्छ । विद्यालयमा संचालित यस्ता परियोजनाहरुले विद्यार्थीहरुको अन्तर्निहित क्षमता प्रस्फुटन गर्ने, अनलाइनको मध्यमबाट सहकार्य गरी विदेशी विद्यालयहरुको राम्रा अभ्यास एवं क्रियाकलापहरुको अध्ययन अवलोकन गर्ने अवसर मिल्ने तथा विश्वव्यापी सचेत नागरिक उत्पादनमा टेवा पुग्ने हुन्छ भने शिक्षकहरुको पनि पेशागत विकासमा सकारात्मक सहयोग गर्दछ”। अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि, कावासोती नगरपालिका वडा नं १ का अध्यक्ष नारायण पन्तले अन्तराष्ट्रिय स्कुल अवार्डका लागि विद्यालयमा संचालित विभिन्न परियोजनाहरुको लागि वडा कार्यालयले सक्दो सहयोग गर्ने बताउनु भयो ।

विद्यालयका सहायक प्रधानाध्यापक पार्वती श्रेष्ठले आगन्तुक तथा विद्यार्थी- अभिभावकहरुलाई स्वागत मन्तव्य दिनु भएको थियो भने कार्यक्रममा विद्यालय  व्यवस्थापन समितिका सदस्य हुम बहादुर विक शुभकमना मन्तव्य दिनुभएको थियो । अभिमुखीकरण कार्यक्रममा सय भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य कमान सिं थापाको सभापतित्व तथा विद्यालयका शिक्षक एवं अन्तराष्ट्रिय स्कुल अवार्डका संयोजक लक्ष्मीप्रसाद पंगेनीको सहजीकरणमा सम्पन्न भएको थियो ।

प्रकाशित : २०७७ फागुन ३ गते १०:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI