कावासोतीका सबै वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन ४ गते १६:१७
कावासोतीका सबै वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना

दयाराम आचार्य/ कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोती नगरपालिका भित्रका सबै वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ । कावासोती नगरपालिकाले नगरपालिकाका सबै १७ वटै वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेको हो ।

नगरपालिका भित्रका सबै जनतामा आधारभुत स्वास्थ्य सेवाको पहुँच होस भनेर सबै वडामा स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले बताउनुभयो । मंगलबार मात्रै एकै पटक सात वटा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्धघाटन गरिएको छ । नगरपालिका भित्रका बिभिन्न सात वटा वडामा मंगलबार एकै दिन आधारभुत स्वास्थ्य सेवा केन्द्र उद्धघाटन गरे संगै सवै वडामा स्वास्थ्य सेवा केन्द्र स्थापना भएको नगर प्रमुख पुनले बताउनु भयो ।

मंगलबार कावासोती नगरपालिका वडा नम्बर ४,५,७,८,११,१३ र १६ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ । यस अघि गत वर्ष चारवटा वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको थियो । केही वडामा पहिल्लेकै स्वास्थ्य चौकीहरु रहेका थिए । लगातार दुई वर्ष सम्म वडाहरुमा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापनालाई प्राथमिकतामा राखेर आफुहरुले काम गरेकाले अहिले नगरका सबै वडामा स्वास्थ्य सेवा केन्द्र स्थापना गर्न सफल भएको नगर प्रमुख पुनले बताउनुभयो । प्रत्यक वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गरे संगै सबै नागरिकले सहज पहुँचमा आधारभुत स्वास्थ्य सेवा लिन सक्ने उहाँले बताउनुभयो । नेपाल सरकारको नीति समेत सबै नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने, वडा वडामा आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने रहेको छ , सोही अनुसार नेपाल सरकार संगको साझेदारीमा काम गरिएको उहाँले बताउनुभयो । ‘हामीले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्यौं, नेपाल सरकारको नीति समेत सबै नागरिकलाई सहज रुपमा सवास्थ्य सेवा पुर्याउने रहेको छ’ नगर प्रमुख पुनले भन्नुभयो–सोही अनुसार साझेदारीमा काम गरेका छौं ।

नगरपालिका भित्र स्थापना गरिएको सबै आधारभुत स्वास्थ्य सेवा केन्द्रमा जनशक्ति समेत व्यवस्थापन गरि सकिएको कावासोती नगरपालिका प्रमुख प्रशासकिय अधिकृत यज्ञ पुरीले बताउनुभयो । उहाँका अनुसार स्थापना गरिएका स्वास्थ्य सेवा केन्द्रमा एक जना स्टाफ नर्स ,एक जना अहेव र एक जना कार्यालय सहयोगीको व्यवस्थापन गरिएको छ ।

स्थापना गरिएका आधारभुत स्वास्थ्य सेवा केन्द्रमध्य अहिले धेरै जसो भाडाको घरमा संचालन गरिएको छ । केही सामाजिक संस्थाका भवनमा समेत संचालन गरिएका छन् । आधारभुत स्वास्थ्य सेवा केन्द्रलाई थप व्यवस्थित बनाउन अहिले एकै पटक ११ वटा भवन निर्माण गर्न लागिएको समेत प्रमुख प्रशासकिय अधिकृत पुरीले बताउनुभयो । उहाँका अनुसार भवन निर्माणको ठेक्का सम्झौताको चरणमा रहेको छ । यसै आर्थिक वर्षमा नेपाल सरकारको मापदण्ड अनुसारको ‘टाईप २ ’ भवन निर्माण हुनेछन् ।
आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना भए संगै यहाँबाट नेपाल सरकारले उपलब्ध गराउने ३५ प्रकारका निशुल्क औषधी सहित खोप सेवा, परिवार नियोजन, उत्तर प्रसुती सेवा ,पोषण सहित सामान्य बहिरङ्ग सेवा प्रदान हुने कावासोती नगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताउनुभयो ।

प्रकाशित : २०७७ फागुन ४ गते १६:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI