कावासोतीको बालुवा डाँडाबाट प्याराग्लाइडिङको सफल परिक्षण उडान

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन ६ गते १५:५३
कावासोतीको बालुवा डाँडाबाट प्याराग्लाइडिङको सफल परिक्षण उडान

तिर्थराज डुम्रे/कावासोती- नवलपुरमा पहिलो पटक प्याराग्लाइडिङको सफल परिक्षण उडान भएको छ । जिल्लाको कावासोती नगरपालिका–१ स्थित बालुवा डाँडाबाट प्याराग्लाइडिङको सफल परिक्षण उडान भएको हो ।

पहिलो दिन तिन वटा सफल परिक्षण उडान भएको छ । पाइलट हरि थापाले पहिलो उडान गर्नु भएको थियो । त्यसपछि थप पाइलट सहित दुई दुई जनाको थप दुई वटा उडान गरिएको थियो । बालुवा डाँडाबाट गरिएको उडानको कावासोती–१ मा रहेको पोखरीतालमा सफल ल्याण्डिङ गरिएको हो ।

बालुवा डाँडा क्षेत्रमा हावाको वाहव, उडान र ल्याण्डिङ क्षेत्र सबै दृष्टिले प्याराग्लाइडिङको लागि उपयुक्त रहेको पाइलट हरि पहारी बताउनु भयो । प्याराग्लाइडिङको लागि बालुवा डाँडा उत्कृष्ट स्थान बन्न सक्ने सम्भावना रहेको पहारीले बताउनुभयो । बालुवा डाँडाको ९२७ मिटर उचाईबाट उडान भरिएको थियो ।

कावासोतीका युवाहरुको सक्रियता र नगरपालिकाको सहयोगमा गरिएको परिक्षण उडान सफल भएपछि यस क्षेत्रमा नियमित प्याराग्लाइडिङको सम्भावना बढेको कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले बताउनुभयो । उहाँ प्याराग्लाइडिङ हुने स्थान बालुवा डाँडामा पुग्नु भएको थियो ।

कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुन र प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले ल्याण्डिङ स्थल पोखरी ताल पुगेर पाइलट दललाई स्वागत गर्नु भएको थियो । सो क्रममा नगर प्रमुख पुनले कावासोती नगरपालिकामा पर्यटकीय दृष्टिले हरेक सम्भावना रहेको भन्दै योजना अगाडी बढाउने युवाहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कावासोतीका युवाहरुले स्थानीय उमेश रानाको अध्यक्षतामा बालुवा डाँडा प्याराग्लाइडिङ युवा समुह गठन गरेर यहाँको सम्भावना बारे अध्ययन र प्रक्रिया अगाडी बढाएका थिए ।

नागरिक उड्यान प्राधिकरणबाट परिक्षण उडानको अनुमति प्राप्त भएपछि अवश्यक सहकार्यको लागि कावासोती नगरपालिकासंग अनुरोध गर्दा सकारात्मक सहयोग प्राप्त भएको समुहका सचिव बिमल रानाले बताउनुभयो । अध्यक्ष उमेश रानाले नाङ्गो आखाले देखेको सपना पुरा भएको भन्दै यसलाई व्यवसायिक रुपमा अगाडी बढाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

कावासोती–१ को बालुवा डाँडाको अन्य स्थानबाट समेत थप सम्भाव्यता अध्ययनको लागि पाँच दिन सम्म परिक्षण उडान सञ्चालन गरिने अध्यक्ष रानाले बताउनु भयो ।
परिक्षण उडान पछि बालुवा डाँडाका स्थानीयहरुले खुशी व्यक्त गर्दै यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्न प्याराग्लाइडिङले थप टेवा पुर्‍याउने भन्दै पहल गर्ने युवा र सहयोग गर्ने नगरपालिकालाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रकाशित : २०७७ फागुन ६ गते १५:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI