श्रीमान ! जनताले तपाईहरुको विवेकको परीक्षण गरिरहेका छ्न, विवेक नगुमाउनुहोस : गगन थापा

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन ९ गते १७:२७
श्रीमान ! जनताले तपाईहरुको विवेकको परीक्षण गरिरहेका छ्न, विवेक नगुमाउनुहोस : गगन थापा

कावासोती  । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गगनकुमार थापाले नेपाली जनताले यति बेला सर्वोच्चका न्यायाधीशहरुको विवेकको परीक्षण गरिरहेको बताएका छ्न ।

आइतबार पुर्वी नवलपरासीको हुप्सेकोटमा नेपाली काङ्ग्रेस हुप्सेकोटले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता थापाले भने, “श्रीमान तपाईंहरु प्रधानमन्त्रीले चालेको कदम संवैधानिक छ छैन भनेर परीक्षण गरिरहनु भएको तर आम जनताले न्यायाधीशहरुको विवेक र साहसको परीक्षण गरिरहेका छ्न ।”

आमसभालाई सम्बोधन गर्दै नेता थापाले अहिले देशमा प्रधानमन्त्रीका केही सिमित मान्छे बाहेक सबैले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनिरहेको वर्तमान अवस्थामा न्यायाधीशहरुले संविधान र आमजनताको भावना बुझेर फैसला गर्न आग्रह गरेका छ्न ।

आमसभालाई सम्बोधन गर्दै नेता थापाले सरकार सामाजिक संजाल सम्बन्धि निर्देशिका जारी गरेर अभिव्यक्ति स्वतन्त्रता माथि बन्देज लगाउने बाटोमा अगाडी बढेको बताउदै त्यसको प्रतिरोध गरिने समेत बताए ।

अहिलेको संघर्षको विषय चुनावमा भाग लिने वा नलिने मात्रै नभएर विगत ६० वर्ष देखि जनताको बलले प्राप्त गरेको सबै ऐतिहासिक उपलब्धि र संविधानको रक्षा भएकोले नेपाली काङ्ग्रेस संविधान र प्राप्त उपलब्धिको रक्षाको पक्षमा रहेको बताएका थिए ।

नेपाली काङ्ग्रेस हुप्सेकोटले सरकारको अलोकतान्त्रिक र असंवैधानिक कदमका विरुद्ध आयोजना गरेको आमसभामा नेपाल कम्युनिस्ट पार्टी परित्याग नेपाली काङ्ग्रेस प्रवेश गर्ने २ सय ५० जनालाई थापाले काङ्ग्रेसमा स्वागत गरेका थिए ।

आमसभामा हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे नेपाल तरुणदलका कोषाध्यक्ष विद्वान गुरुङ , नेविसंघ महामन्त्री युवराज पाण्डे , काङ्ग्रेस नेताहरु मध्यविन्दु नगरपालिकाका नगरप्रमुख चन्द्रबहादुर राना, नेपाली काङ्ग्रेस महासमिति सदस्य विष्णुकुमार कार्की , प्रदेश सभा सदस्य ओमकला गौतम, संविधान सभा सदस्य महेन्द्र ध्वज जिसि, नेपाली काङ्ग्रेस नवलपुरका सभापति एवं प्रदेश सभा सदस्य विष्णु लामिछाने , गण्डकी प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता, कृष्ण चन्द्र नेपालीले सम्बोधन गरेका थिए ।

कार्यक्रम नेपाली काङ्ग्रेस हुप्सेकोटका सभापति ओमन सिंह रजालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

प्रकाशित : २०७७ फागुन ९ गते १७:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI