गैंडाकोटबाट हालसम्म बेपत्ता भएका बालवालिकामा “फ्रि फायर” गेमको बढ्दो कुलत

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १० गते १८:२६
गैंडाकोटबाट हालसम्म बेपत्ता भएका बालवालिकामा “फ्रि फायर” गेमको बढ्दो कुलत

प्रकाश भण्डारी, गैंडाकोट।   पछिल्लो समय १८ बर्ष भन्दा मुनिका बालवालिकामा “फ्रि फायर” गेमको बढ्दो कुलत देखिएको छ।

फ्रि फायर गेमको बढ्दो कुलतसँगै यस गेममा रमाउने बालवालिकाहरू दिनानुदिन बिभिन्न घटनाहरूसँग नजिक रहेको पछिल्लो तथ्यांकले बताउँछ।

फ्रि फायर गेमको कुलतमा फसेका १८ बर्ष भन्दा कम उमेर समुहका बालवालिकाहरूमध्ये गैंडाकोट नगरपालिकाका पनि रहेका छन्।

पछिल्लो समयमा “फ्रि फायर” गेममा अत्यधिक समय बिताउने गैंडाकोटबाट बेपत्ता भएका ५ जनाहरुमध्ये ३ जनालाई प्रहरी प्रशासनको सहयोगमा सकुशल फेला पारि परिवारको जिम्मा लगाईएको छ भने १ जना हालसम्म बेपत्ता रहेका छन्। अर्का एकजना मृत अवस्थामा भेटिएका गैंडाकोट नगरपालिका वडा नं. २ का जुम्ल्याहा दाजुभाई मध्येका कान्छा संगम  पौडेलपनि अत्यधिक “फ्रि फायर” गेम खल्ने गरेको अनुसन्धानबाट खुलेको छ।

गैँडाकोट नगरपालिका वडा नं. १३ बेल्डिहाका १५ वर्षीय विन्देश ढकाल पछिल्लो केही महिना देखि बेपत्ता छन्। उनी पनि अत्यधिक “फ्रि फायर” गेम खेल्ने मध्येका एक हुन्।

गैंडाकोटबाट शुक्रबार बेपत्ता भै आईतबार दमौलीबाट सकुशल फेला परेकी वडा नं. ८ की पवी परियार (रश्मी) पनि अत्यधिक समय “फ्रि फायर” गेम खेल्ने गरेको आमा शान्ती परियार बताउँछिन्। केही समय अगाडि बेपत्ता भै गैंडाकोटकै २ जनालाई पनि प्रहरी प्रशासनको सहयोगमा सकुशल फेला पारि परिवारको जिम्मा लगाईएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख चन्द्रबहादुर थापा बताउनुहुन्छ।

लामो समयको कोभिडका कारण सृजित लकडाउन र त्यसै समयमा फुर्सदिला बनेका बालवालकाहरू बढी जसो मोवाईलमा झुम्मिने गरेका छन्। लकडाउनको समयमा लामो समय फुर्सदिला बनेका बालवालिकाहरू पढ्ने भन्दा पनि मनोरञ्जनका साधनमा अत्यधिक समय बिताउन थाले। लकडाउनकै बिचमा शुरूवात गरिएको अनलाइन कक्षाले गर्दा परिवारले खाई नखाई भएपनि बालवालिकाको अध्ययनका लागि मोवाइल किन्नुपर्ने बाध्यता रह्यो। जसले गर्दा बालवालिका अनलाइन कक्षामा भन्दा फेसबुक, टिकटक, युट्युव, ईन्ष्ट्राग्राम पब्जी गेम तथा फ्रि फायर लगायतका गेमहरूको कुलतमा फसेको कारणले पछिल्लो समयमा यस्ता प्रकारका घटनाहरू देखिएको गैंडाकोट नगरपालिकाका (शिक्षा शाखा) शाखा अधिकृत मोती रिजाल बताउनुहुन्छ।

अभिभावकहरुले आफ्नो बालवच्चाहरू पढ्ने अलावा मोवाईलमा के के हेर्ने गर्दछन्, कुन कुन बेला बढि प्रयोग गर्दछन्। कतै बालवच्चाहरू मोबाईलको गलत प्रयोग त गर्दे छैनन्? भन्ने तर्फ अभिभावक बढि चनाखो हुनुपर्ने र बालवच्चालाई न्यून मात्रामा मोबाईल चलाउन दिनुपर्दछ। मोबाईलको गलत प्रयोग हुनबाट जोगाउने प्रमुख भूमिका अभिभावकको रहेको रिजाल बताउनुहुन्छ।

गैंडाकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालयलाई समेटेर “डिजिटल लिटरेसी” कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई कुन कुन साईट चलाउन हुने, कुन कुन साईट चलाउन नहुने, मोबाईलबाट लिन सकिने फाईदा र अत्यधिक प्रयोगबाट हुने बेफाईदा तथा यसका नकारात्मक असरको बारेमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने र सो को लागि आफु तत्पर रहेको रिजालले जानकारी गराउनुभयो। गैंडाकोट नगरपालिकाले फागुन १२ गते प्रधानाध्यापकहरूको भेला राखेको र सो कार्यक्रममा विविध शिर्षक अन्तर्गत यस बिषयलाई उठान गरि विद्यार्थी, अभिभावक र विद्यालयको भूमिका तथा यस्ता घटना न्यूनिकरणका लागी के के गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिने रिजाल बताउनुहुन्छ।

मनोरञ्जनका साधनहरूको उपर्युक्त विकल्प नहुँदा बालवालिकाहरू अधिकांश मोबाईलमा बिताएको देखिन्छ। अभिभावकहरूनै बालवच्चालाई पढ् पढ् भन्दै आफै अधिकतम मोबाईलमा फेसबुक, टिकटक, यूट्युव तथा गेमहरू खेलिरहँदा त्यसको असर बालवालिकाहरूमा प्रत्यक्ष रूपमा परेको छ। अभिभावक र बालवच्चाहरूमा रहेको व्यवहारगत बेमेल/अन्तर, बालवच्चाहरूले मोबाईल के उद्देश्यका लागि प्रयोग गरेका छन् भनेर ख्याल नगर्नू, विद्यालयमा उपयुक्त परामर्शको कमी, रूची अनुसारका खेलकुदका साधन नहुनु  र स्थानीय सरकारले मनोरञ्जनका लागि पार्क तथा मनोरञ्जन स्थलको बिकास नगर्दा अभिभावकको आदेशात्मक भनाईले मात्रै बालवच्चाहरूको स्वभाव र व्यवहार बदल्न कठिन हुने पूर्व उपसचिव (शिक्षा) गोपाल भण्डारीले बताउनुभयो। यसका लागी मुख्यत: अभिभावकहरू मुख्य जिम्मेवार बन्नुपर्ने र बालवच्चाहरूको हरेक कृयाकलापमा ध्यान दिन जरूरी रहेको भण्डारी बताउनुहुन्छ।

विद्यालयमा अध्ययनरत १८ बर्ष भन्दा कम उमेरका बालवच्चाहरूको मोबाईलमा बढ्दो पहुँचले गर्दा दिनानुदिन बिभिन्न घटनाहरू घटेका छन्। पछिल्लो समयमा गैंडाकोटमा घटेका घटनाहरू यसका केहि उदाहरण रहेको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख चन्द्रबहादुर थापाले बताउनुभयो। बालवच्चाहरू अत्यधिक समय मोबाईलमा पब्जी तथा फ्रि फायर लगायतका गेम खेल्ने, घरमा अभिभावक नभएको मौका पारेर होस वा अभिभावक बसेको कोठामा भन्दा भिन्न कोठा तथा चोक, चौपारी, छत, पिढीँ तथा प्यासेज र साथी सर्कलमा बसेर होस् उनीहरू अधिकांश समय मोबाईलमै बिताएको देखिन्छ।

बालवच्चाहरू बिभिन्न गेममा बाजी थापेर पैसाको नोक्शान त गरेकै छन् त्यसैमा पनि गेमको कुलतमा फसेर बिभिन्न घटनाहरू निम्त्याईरहेको थापा बताउनुहुन्छ। जसको असरले गर्दा बालवच्चाहरू छिटो रिसाउने, पढ्न ध्यान नदिने, अभिभावकले भनेको नमान्ने, गृहकार्य नगर्ने, नियमित विद्यालय नजाने, साथी सर्कलमा व्यस्त रहन मनपराउने, विद्यालय छाड्ने र अभिभावकको कुरालाई ध्यान नदिई घरै छाडेर हिड्ने र आत्महत्या सम्मको प्रयास गरेको पछिल्ला घटनाक्रमले पुष्टि गरेको थापाको भनाई छ। विद्यालयमा कम्प्युटर शिक्षकले मोबाईलको फाईदा बेफाईदा लगायतको बारेमा बालवच्चाहरूलाई सचेत गराउनुपर्ने र अभिभावकले आफ्ना बालवच्चाहरू मोबाईल के काममा प्रयोग गर्देछन् भन्ने बारेमा ध्यान दिनु जरूरि छ। अभिभावकहरू थप जिम्मेवार नबन्ने हो भने भोलिका दिनका यस्ता प्रकारका घटनाहरू दोहोरिने थापा बताउनुहुन्छ।

 

 

 

 

प्रकाशित : २०७७ फागुन १० गते १८:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI