यस्तो सुनियो मंगलग्रहको आवाज (भिडियो)

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन ११ गते १२:२७
यस्तो सुनियो मंगलग्रहको आवाज (भिडियो)
एजेन्सी । मंगलग्रहका रहस्यहरूलाई सुल्झाउनका लागि नासाले पठाएको पर्सिभियरेन्स रोभरले मंगल ग्रहको पहिलो भिडियो र अडियो पठाएको छ ।

अमेरिकी अन्तरिक्ष नियोग नासाले शेयर गरेको भिडियोमा मंगलग्रहमा अवतरणको प्रसंग छ ।

रोभरमा भएका क्यामराहरूले मंगलग्रहको अवतरण देखाउनुका साथै त्यसका माइक्रोफोनले केही सेकेन्डको अडियो पनि पठाएको छ । अडियोमा मंगलग्रहको हावा चलेको आवाज तथा रोभरले काम गर्दा उत्पन्न भएको आवाज सुनिन्छ ।

नासाका वैज्ञानिक टमस जुरबुचेनले बताए, ‘रोभरको अवतरणको यो भिडियो शानदार छ । अर्को संसारको खोज गर्न चाहने र त्यहाँ पुग्ने यान बनाउन खोज्ने महिला तथा पुरुष वैज्ञानिकले यो भिडियो अवश्य हेर्नुपर्छ ।’

रोभरमा २३ वटा क्यामरा फिट गरिएको छ । तिनमा जूम गर्ने र रंगीन भिडियो बनाउने क्षमता पनि छ ।

रोभरसँगै इन्जेन्युइटी नामक हेलिकप्टर पनि छ । त्यसले पृथ्वीमा विभिन्न सूचनाहरू पठाइरहेको छ ।
रोभरले मंगलग्रहमा अवतरण गरेका कुल २३ हजार तस्वीरहरू पठाएको छ ।

यो रोभर जेजेरो क्रेटरमा ओर्लिएको थियो र त्यो क्रेटरलाई मंगलग्रहको पुरानो ताल मानिन्छ । वैज्ञानिकहरूले मंगलग्रहमा कुनै बेलामा जीवन थियो भने त्यसको संकेत त्यहाँ भएका जीवाश्मबाट पाइने बताएका छन् ।

नासाको पर्सिभियरेन्स रोभरले मंगलग्रहमा एस्ट्रोबायोलोजीसँग जोडिएको महत्त्वपूर्ण प्रश्नको उत्तर दिनेछ । मंगलमा जीवन सम्भव छ भन्ने प्रश्नको उत्तर खोज्नु जरूरी छ ।

यस मिसनमा माइक्रोबियल लाइफका संकेतहरू खोजिने प्रयास गरिनेछ । रोभरले चट्टान र माटोको नमूना संकलन गर्नेछ र भविष्यमा त्यहाँ पुग्ने मिसनले ती स्याम्पलहरूलाई पृथ्वीमा फर्काउनेछन् ।

त्यसबाहेक मिसनले भविष्यमा मंगलग्रहमा मानिसलाई पठाउने तरिकाको खोज पनि गर्नेछ । मंगलको वायुमण्डलमा अक्सिजन बनाउने तरिका खोज्ने महत्त्वपूर्ण काम गरिनेछ । रोभरमा मार्स अक्सिजन इन सितु रिसोर्स युटिलाइजेसन एक्सपेरिमेन्ट अर्थात् मोक्सी नामक डिभाइस राखिएको छ । त्यसले मंगलमा अक्सिजन उत्पन्न गर्ने प्रयास गर्नेछ ।

प्रकाशित : २०७७ फागुन ११ गते १२:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI