कांग्रेस पदाधिकारी बैठक आज बस्दै, सत्ता समीकरणबारे छलफल हुने

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १३ गते १०:४९
कांग्रेस पदाधिकारी बैठक आज बस्दै, सत्ता समीकरणबारे छलफल हुने

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ ।

सत्ता सञ्चालनको महत्वपूर्ण अवसर प्राप्त हुने सम्भावनासँगै आगामी सत्ता समिकरणबारे आन्तरिक छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको अवस्थामा सत्ता समीकरणका लागि निर्णायक मानिएको नेपाली कांग्रेसले बुधबारयता आन्तरिक छलफललाई तीव्रता दिएका छ ।

हिजो बुधबार नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले भेटेर सत्ता सहकार्यका लागि आग्रह गरेपछि पार्टीभित्र छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएको बताइएको छ । देउवाले हिजो प्रचण्ड–नेपाललाई पार्टीमा छलफल गरेर जवाफ दिने आश्वासन दिएका थिए ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै अबको सत्ता सञ्चालनमा नेपाली कांग्रेस निर्णायक शक्तिको रुपमा प्रकट भएको छ ।

हाल नेकपाको ओली समूह र प्रचण्ड–नेपाल दुवै समूहले नयाँ सत्ता समीकरणका लागि कांग्रेसको साथ खोजिरहेका छन् ।

प्रतिनिधिसभातर्फ कुल २ सय ७५ सांसदमध्ये कांग्रेसका ६३ जना छन् । नेकपाका १७४ मध्ये ९० जना प्रचण्ड नेपाल समूहले आफ्नो पक्षमा रहेको दाबी गरिरहेको छ ।

त्यस्तै जसपाका ३४ सांसद छन् । प्रधानमन्त्री बन्न १३८ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रकाशित : २०७७ फागुन १३ गते १०:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI