१७ वर्षीया किशोरी विवाह गर्दा दुलाहासहित बुबाहरू पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १५ गते १२:५८
१७ वर्षीया किशोरी विवाह गर्दा दुलाहासहित बुबाहरू पक्राउ

वीरगञ्ज, १५ फागुन । बालविवाह गर्ने गराउने कार्यमा संलग्न भएको आरोपमा वीरगञ्जबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने ४६ वर्षीय बुवा र उनका १९ वर्षीय छोरा पक्राउ परेका हुन् । माघ १९ गते १९ वर्षीय युवकको विवाह वीरगञ्ज– १६ लक्ष्मीनारायण टोल बस्ने १७ वर्षीया युवतीसँग भएको थियो ।

उनीहरूविरुद्ध बालविवाह मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धानअघि बढाइएको प्रहरीले जनाएको छ ।

बाल विवाह गरेको सूचना आएपछि प्रहरीले बेहुला र बेहुलाको बुवालाई फागुन १४ गते पक्राउ गरेर बाल विवाह सम्बन्धी कसूरमा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

मुलुकी अपराध संहिता २०७४ मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नपाउने उल्लेख छ । त्यसरी गरिएको विवाह स्वतः बदर हुन्छ ।

बालविवाहको कसुर प्रमाणित भए तीन वर्षसम्म कैद र तीस हजार रुपियाँसम्म जरिमाना हुन्छ ।

प्रकाशित : २०७७ फागुन १५ गते १२:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI