निर्वाचन आयोगको भूमिकाप्रति दाहाल–नेपाल समूहको असन्तुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १६ गते ८:५२
निर्वाचन आयोगको भूमिकाप्रति दाहाल–नेपाल समूहको असन्तुष्टि

काठमडाैं, १६ फागुन । नेकपाको आधिकारिकतासम्बन्धी विवाद निरूपणमा निर्वाचन आयोगले गरेको ढिलाइप्रति दाहाल–नेपाल समूह असन्तुष्ट बनेको छ । नेकपाको विवादमा निर्वाचन आयोगले चाँडो छिनोफानो नगर्दा असहज परिस्थिति सिर्जना भएको सो समूहको दाबी छ ।

सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संगठनात्मक निर्णय अद्यावधिकका लागि गरिएको अनुरोधले नेकपा विवाद निरूपणको प्रक्रियामा आउन बाध्य बनाए पनि अहिलेसम्म निर्णय नदिएको भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन् । सर्वोच्च अदालतले दबाब, धम्की र प्रतिगामी षड्यन्त्रलाई चिर्दै संविधान र लोकतन्त्रको पक्षमा ऐतिहासिक फैसला गरे पनि आयोगले भने अहिलेसम्म कुनै निर्णय नदिँदा चौतर्फी रूपमा विभिन्न प्रश्न उठ्न थालेको उनको भनाइ छ ।

‘निर्वाचन आयोग के गर्दैछ ? सर्वोच्च अदालतमार्फत पूरा हुन नसकेको प्रतिगामी योजनाको सेवामा के निर्वाचन आयोग प्रयोग होला त ?’ अहिले सर्वाधिक सार्वजनिक सरोकारका प्रश्न रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘अदालतले दिएको सकारात्मक निकासलाई कार्यान्वयन हुनबाट रोक्ने हतियार निर्वाचन आयोग बन्ला त ?

अदालतको फैसलालाई निष्प्राण बनाउँदै संविधान र कानुनलाई नांगै लत्याउने काम निर्वाचन आयोगबाट होला त ?’ शनिबार सामाजिक सञ्जालमा आफ्ना भनाइ राख्दै प्रवक्ता श्रेष्ठले निर्वाचन आयोगले संविधान र कानुनसम्मत ढंगले सहज निर्णय नगर्दा यस्तो प्रश्न उठेको बताएका हुन् । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित : २०७७ फागुन १६ गते ८:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI