अनलाइनबाटै यसरी हेर्नहोस् देशभरको माटोको विवरण

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १९ गते १६:३१
अनलाइनबाटै यसरी हेर्नहोस् देशभरको माटोको विवरण

काठमाडौं । माटोको डिजिटल नक्साङ्कन गर्नेमा नेपाल सार्क क्षेत्रकै पहिलाे देश बनेकाे छ । आफ्नो जग्गा वा खेतका बारेमा जानकारी संकलन गर्न नसकिरहेका कृषकहरुको सहजताका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले डिजिटल नक्साङ्कन प्रणाली तयार पारेका हुन् ।

यो प्रणाली सुरु भएसँगै एक ठाउँमा बसेर देशभरीको भूगोलमा रहेका माटोको विवरण थाहा पाउन सकिन्छ । अनलाइनबाटै नेपालको कुन ठाउँको माटोको अवस्था कस्ताे छ, त्यस्ताे माटोमा कस्तो खालको खेती लगाउन सकिन्छ भन्ने विषयमा जानकारी लिन र योजना बनाउन तपाईंलाई सजिलो हुनेछ ।

याे डिजिटल प्रणालीमा नेपालको हरेक ठाउँकाे माटाेकाे जानकारी उपलब्ध गराइने बताइएकाे छ ।जहाँ एक क्लिक गरेकै भरमा माटोको अम्लीयपन, रसायन पदार्थको मात्रा, उर्वरा शक्ति, माटोको बनावट तथा गुणस्तर लगायतका जानकारी लिन सकिने छ ।

किसानले आफ्नो जग्गामा माटोको गुणस्तरका आधारमा मल कति आवश्यक पर्छ, कस्तो बाली लगाउँदा उपयुक्त हुन्छ, यदि माटोको गुणस्तर नराम्रो भएको खण्डमा त्यसलाई सुधार्न आवश्यक कदम चाल्न समेत यसले मद्दत पुर्‍याउने बताइएकाे छ ।

प्रविधिसँग अभ्यस्त नभइसकेका कृषक वा जिज्ञासुहरुका लागि आज हामीले यस डिजिटल नक्साङ्कनलाई हेर्ने तरिका र यसका लाभहरुका बारेमा बताउने छौं ।

१. सबैभन्दा पहिले राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र नार्कको वेबसाइटमा जानुहोस् । यति गरेपछि वेबसाइटमा युजर इन्टरफेस देखापर्दछ ।

२. तल देखिने तीन वटा बक्सहरुमा क्रमश: Crop Map, Soil Map र API देख्न सक्नुहुन्छ । दोस्रो बक्स Soil Map भित्र रहेको Clich here to view मा क्लिक गर्नुहोस् ।

३. अब बायाँतिर रहेको नेभिगेसन प्यानलमा जानुहोस् । त्यहाँ पहिलोमा जुम प्लस, दोस्रोमा जुम माइनस र तेस्रोमा जुम टु एक्स्पान्ड छ । त्यस्तै चौंथोमा रहेको Show/Hide Layers मा क्लिक गर्नुहोस् ।

४. यसपछि देखिने नयाँ पेजमा बाँयातर्फ माथि रहेका Open Stree Map र Satellite Imagery मध्ये Satellite Imagery चयन गर्नुहोस् । अनि म्यापको माथिल्लो भागमा रहेका प्रोभिन्स, जिल्ला र पालिकामा आफूले हेर्न चाहेका क्षेत्रहरु चयन गर्नुहोस् ।

अब बायाँतिरको प्यानलमा रहेको सोइल प्रोपर्टिजमा तल टिक लगाउँदै सोइल पीएच, अर्गानिक म्याटर, टोटल नाइट्रोजन, पोटासियम, फसफोरस, बोरोन, जिङ्क, स्लिट, बालुवा लगायतका विवरण हेर्नुहाेस् ।

५. आफ्नो क्षेत्रको माटोमा कुन तत्वको अवस्था कस्तो छ भन्ने कुरा ‘कलर इन्डिकेटर’बाट देख्न सकिन्छ । यसरी माटोको सम्पूर्ण तत्व र उनीहरुको अवस्था प्यारामिटर हेर्न सक्नुहुन्छ । यसरी तपाईंले गह्रा गह्राको माटोको अवस्था हेर्न सक्नुहुन्छ ।

६. नेभिगेसन प्यानलमै अन्तिम तेस्रो स्थानमा रहेको Point Analysis मा क्लिक गर्नुहोस् । अब आफूले हेर्न चाहेको क्षेत्रमा क्लिक गर्नुहोस् । उदाहरणका लागि तपाईंको खेतको गह्रा । आफ्नो खेतको गह्रा चयन गर्न स्याटेलाइट इमेजरीबाट इन्लार्ज गर्दै हेर्न सक्नुहुन्छ । यसरी क्लिक गरेपछि तपाईंले उक्त तोकिएको क्षेत्रको माटोको गुण पनि थाहा पाउन सक्नुहुन्छ ।

७. यदि तपाईंको प्रशस्तै खेतहरु छन् र आफ्नो समग्र जग्गाको अवस्था हेर्न चाहनुहुन्छ भने नेभिगेसन प्यानलको अन्तिममा रहेको पोलिगन एनालिसिसमा क्लिक गर्नुहोस् । अब म्यापमा आएर क्लिक गर्दै पोलिगन बनाउनुहोस् ।

यस्तो पोलिगन बनाउन कम्तीमा तीन वटासम्म डट चाहिन्छ । आफ्नो जग्गाको आकार स्याटेलाइट इमेजरीबाट पहिचान गरी आफ्नो क्षेत्रफललाई समेट्ने पोलिगन बनाइसकेपछि त्यस क्षेत्रका सम्पूर्ण माटोको गुण र अवस्था एउटा बारमा देखा पर्दछ ।

८. तर म्यापलाई जुम इन गर्दै लग्दा ५ सय मिटरभन्दा कम हुनुहुन्न । पाँच सयभन्दा कम भयो भने आउट अफ प्रोजेक्ट एरिया बन्न जान्छ । एरिया म्यापकै तल देखाइएको हुन्छ ।

यसरी तपाईंले आफ्नो घरको गह्रा गह्रालाई स्याटेलाइट इमेजबाट आफैंले हेरेर आफ्नो माटोको अवस्था बुझ्न सक्नुहुन्छ । माटोको अवस्था र त्यसको प्यारामिटरलाई पनि कलर इन्डिकेसनको साथ साइटमा राखिएको छ ।

किसानहरुलाई यस अघिसम्म माटो परीक्षणको सजिलो सुविधा थिएन । केन्द्रको तथ्याङ्कअनुसार वार्षिक करिब १५ सय किसानहरुले मात्र आफ्नो माटोको परीक्षण गराउने गरेको यस परियोजनाका प्राविधिक विज्ञ तथा केन्द्रका माटो वैज्ञानिक श्रीप्रसाद विष्ट बताउँछन् ।

उक्त सफ्टवेयरमा केन्द्रले दशभरबाट माटोको २३ हजार २ सय ७३ नमुनाहरु राखेर म्यापिङ गरेको विष्टले बताए । माटोको गुण परिवर्तन भइरहने हुँदा केन्द्रले यसलाई लगातार अद्यावधिक गर्दै लैजाने उनले बताए ।

‘हामी यसलाई निरन्तर अद्यावधिक गर्दैछौं,’ विष्ट भन्छन्, ‘हामीले प्रयोग गर्ने स्याटेलाइटले मौसम परिवर्तन र त्यसले माटोको गुणमा पार्ने प्रभावलाई स्वतः अद्यावधिक गरिदिन्छ । पहिरो गयो, पानी पर्‍यो भने कताको माटोमा कस्तो गुण परिवर्तन भयो कति माटो गयो यी सबै कुरा स्वतः सिस्टममा अपडेट हुन्छन् ।’

माटोको गुण मापनका लागि केन्द्रले माटो निर्माणको प्रक्रियालाई असर गर्ने १६८ वटा कारक तत्वहरु पहिचान गरेकाे छ । जसमा प्राकृतिकबाहेक कृत्रिम मलमूत्र तथा मलाखाद्य लगाएको र त्यसले माटोमा ल्याएको परिवर्तनलाई भने स्याटेलाइटले देखेर अपडेट गर्न सक्दैन ।

यसका यी कारक तत्व र यसको असरलाई अद्यावधिक गर्न केन्द्रले वर्षेनि फिल्डमा नै पुगेर नमुना संकलन गरी ल्याउने गरेको उनले बताए ।

सोइल इन्फर्मेसन सिस्टमको तयारी 

केन्द्रले सोही साइटमा माटोबाहेक क्रप र एपीआई दुई फिचर पनि राखेकाे छ । जसमध्ये क्रपको बक्सभित्र छिरेर कृषकहरुले आफ्नो क्षेत्रमा उपयुक्त हुने किसिमका अन्नबाली हेर्न सक्छन् ।

केन्द्रले माटोको गुणलाई मूल्याङ्कन गरेर सोहीअनुरुप सुहाउने अन्नबाली क्षेत्रअनुसार छुट्याएर राखिदिएको छ ।

यस्तै केन्द्रले वृहत सोइल इन्फर्मेसन सिस्टम तयार पार्ने योजना लिएको छ । यसका लागि अर्को एपीआई फिचरमा नेपालमा माटोसम्बन्धी अध्ययन अनुसन्धान गर्न चाहने शोधकर्ताहरुलाई यूजर अकाउन्ट बनाएर उनीहरुबाट प्राप्त जानकारीलाई पनि केन्द्रले साइटमा अपडेट गर्नेछ ।

तर हालका लागि भने आफूहरुको प्राथमिकता माटोमै केन्द्रित भएको विष्ट बताउँछन् ।

यसरी देशको कुन भागमा कुन र कस्तो माटो पाइन्छ भनेर कृषकहरुले एक क्लिक गरेकै भरमा हेरेर थाहा पाउन सकुन् भनेर यस्ताे डिजिटल प्रक्रिया सुरू गरिएकाे विष्टले उनले बताए ।

साइट लञ्च भएको केही दिनमात्र भएको हुँदा भिजिटरको संख्या उच्च भएकाले साइट भिजिट गर्दा केही ल्याग हुन सक्छ । तर साँझ ३ बजेपछि भने साइट राम्रैँग चलाउन सकिन्छ ।

सदाबहार भिजिट हुने साइट नभएका कारण सर्भरलाई अपग्रेड नगरिएको केन्द्रले बताएको छ । यसले एकपटकमा ४ सय हारहारीका भिजिटरलाई धान्न सक्छ ।-टेकपानाबाट

प्रकाशित : २०७७ फागुन १९ गते १६:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI