विप्लव आज सार्वजनिक हुँदै, प्रधानमन्त्रीसँग एउटै मञ्चबाट सम्बोधन गर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २१ गते ८:५१
विप्लव आज सार्वजनिक हुँदै, प्रधानमन्त्रीसँग एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं, २१ फागुन । सरकार र विप्लव समुहबीच विहिबार भएको तीन बुँदे सहमतिपछि आज (शुक्रबार) नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुँदैछन् । ‘विप्लव’ आज २ वर्षपछि सार्वजनिक हुन लागेका हुन्।

आज सार्वजनिक हुने कार्यक्रममा सहमित अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् । सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोहलाई दिउँसाे २ बजे प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्नेछन् । सोही समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने छ ।

केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ को मन्त्रिपरिषद निर्णयले विप्लव समूहलाई प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । सरकारले बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरिसकेको छ ।

सहमति अनुसार ‘विप्लव’ समूहका नेता–कार्यकर्तालाई शुक्रबारसम्म हिरासतबाट रिहा गर्न गृहमन्त्रालयले निर्देशन पनि दिइसकेको छ । प्रमुख जिल्ला अधिकारीको आदेशमा म्याद थप गरिएका विप्लव समूहका १८ जना कार्यकर्ता प्रहरीको हिरासतमा रहेको बताइएको छ ।

प्रकाशित : २०७७ फागुन २१ गते ८:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI