विष्णु पौडेलको कार्यक्रममा ढुङ्गा प्रहार, भाषण छोडेर बाहिरिए

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २१ गते १९:०९
विष्णु पौडेलको कार्यक्रममा ढुङ्गा प्रहार, भाषण छोडेर बाहिरिए

रुपन्देही । रुपन्देहीको मोतीपुरमा शुक्रवार दिउँसो तिर एकाएक स्थानीयहरूको ठुलो जमात जम्मा भयो । जहाँ मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रम राखिएको थियो । जुन कार्यक्रमको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गर्ने कार्यक्रम तय गरिएको थियो ।

कार्यक्रम स्थलको तयारी पुरा गरिएको थियो । उद्घाटनका लागि अर्थमन्त्री पौडेले सो क्षेत्रमा पुगिसकेका थिए । तर, विडम्बना, सरकारले विकासको रूपमा निर्माण गर्न थालिएको भनिएको औद्योगिक क्षेत्र निर्माण गर्दा विगत देखि बस्दै आएका स्थानीयहरूको कुनै व्यवस्थापन नगरी, स्थानीयहरूको सहमति विपरीत औद्योगिक क्षेत्रको शिलान्यास गर्न थालिएको भन्दै, स्थानीयहरू द्वारा नाराबाजी गर्दै विरोध प्रदर्शनमा उत्रिए पछि एक छिन कार्यक्रम स्थल अस्तव्यस्त बन्न पुग्यो ।

स्थानीयहरूले अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेश सांसद तुलसी चौधरी र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका नन्द किशोर बस्नेत विरुद्ध चर्को नाराबाजी गर्दै, शिलान्यास कार्यक्रम बहिष्कार गरेका थिए । कार्यक्रम स्थल नाराबाजीले तनाव सृजना हुँदा बाक्लो रूपमा सो क्षेत्रमा प्रहरी परिचालन गरिएको थियो । कडा सुरक्षाका साथ स्थानीयहरूको असहमति बिचमा अर्थमन्त्री पौडेलले अन्ततः मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरिछाडे ।

सो क्रममा स्थानीय र प्रहरी बीच ढुङ्गा हानाहान समेत भएको छ । अर्थमन्त्री विष्णु पौडेल बसेको मञ्चमा नै ढुङ्गा हान्न थालेपछि मन्त्री पौडेल भाषण गर्न छोडेर बाहिरिएका हुन् । ढुङ्गा हानाहानमा एक प्रहरी र एक स्थानीय घाइते भएको प्रहरीले जनाएको छ । त्यस्तै, आक्रोशित स्थानीयहरूले अर्थमन्त्री पौडेलले शिलान्यास गरिएको शिलालेख समेत तोडफोड गरेका छन् । यसैबिच शिलान्यास कार्यक्रमलाई बहिष्कार गर्दै बिथोल्न बिहीबार साँझ स्थानीयहरूले कार्यक्रम मञ्च समेत भत्काई दिएका थिए ।

स्थानीयहरूको वैकल्पिक व्यवस्थापन नगरी औद्योगिक क्षेत्र स्थापना गर्दा विगत देखि बस्दै आएका त्यहाँका स्थानीयहरूको उठीबास लाग्ने भन्दै, स्थानीयहरूले एक सङ्घर्ष समिति बनाएर विरोध जनाउँदै आएका छन् । हाल उक्त क्षेत्रमा करिब ३ हजार भन्दा बढी घरपरिवार बस्दै आएको सङ्घर्ष समितिले बत्ताएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न-३ र सियारी गाउँपालिकाको केही भाग अर्थमन्त्री विष्णु पौडेलको निर्वाचन गढ पर्दछ ।

स्थानीयहरूले विरोध प्रदर्शनका क्रममा अर्थमन्त्री पौडेललाई लक्षित गर्दै, (प्रदेश सँग राजधानी साट्नेले अव जनताको जग्गा हडप्ने रे) जस्ता लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।

प्रकाशित : २०७७ फागुन २१ गते १९:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI