केपी ओलीलाई प्रधानमन्त्रीमा कायम राख्दा प्रजातन्त्र कमजोर हुन्छ : गगन थापा

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २८ गते १७:१६
केपी ओलीलाई प्रधानमन्त्रीमा कायम राख्दा प्रजातन्त्र कमजोर हुन्छ : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कायमै राखे राज्यका सम्पूर्ण संयन्त्रलाई दबाब र प्रभावमा पारेर कब्जा गर्ने र प्रजातन्त्र कमजोर हुने बताएका छन् । शुक्रबार नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री ओलीलाई शासनसत्ता दिइराख्नाले नेपालमा नाम मात्रैको चुनाव गराउने आरोप लगाए ।

नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने म्यान्डेड पाएको भए पनि संकटको वेलामा कांग्रेसले सम्हाल्नुपर्ने अवस्था आएको बताएका छन् ।  सर्वोच्च अदालतको फैसला नेकपाले स्वीकार गरिसकेपछि नेकपाले सरकार चलाउन पाएको म्यान्डेड सकिएको उल्लेख गर्दै नेता थापाले संसदमा सरकार चलाउने मान्डेड पाएको पार्टी नरहेको टिप्पणी गरे ।

नेपाली कांग्रेसले वर्तमान अवस्थालाई सम्हालेर निकास दिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘नेपाल कम्युनिस्ट पार्टीको नाममा जुन म्यान्डेड उहाँहरूले पाउनुभयो, त्यो मान्डेड अस्तिको सर्वोच्च अदालतको फैसला र त्यो फैसलालाई उहाँहरूले स्वीकार गरिसकेपछि सकियो । त्यसैले यो संसदमा सरकार चलाउने म्यान्डेड पाएको पार्टी छैन । हामीले प्रतिपक्षमा बस्ने म्यान्डेड पाएको पाएको हाे । तर, यो क्राइसिसको वेलामा अब हामीले सम्हाल्नुपर्नेछ । हामीले सम्हालेर यसलाई निकास दिने, निकास दिएर देशलाई चुनावमा लिएर जाने र त्यो चुनावबाट नयाँ म्यान्डेड प्राप्त गर्ने हाे ।’

प्रकाशित : २०७७ फागुन २८ गते १७:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI