ह्याट्रिकसँगै रोनाल्डोले पेलेको सर्वाधिक गोलको कीर्तिमानलाई उछिने

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत २ गते ८:४७
ह्याट्रिकसँगै रोनाल्डोले पेलेको सर्वाधिक गोलको कीर्तिमानलाई उछिने

आधिकारिक खेलहरुमा सर्वाधिक गोलको आफ्नो कीर्तिमान भंग गरेपछि ब्राजिलका महान् खेलाडी पेलेले युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोलाई बधाई दिएका छन् । इटालियन सिरिए ए अन्तरगतको खेलमा काग्लियारीविरुद्ध ह्याट्रिक गर्दै रोनाल्डोले सो कीर्तिमान भङ्ग गरेका हुन् ।

आइतबार भएको खेलको शुरुवाती ३२ मिनेटमा तीन गोल गर्दै रोनाल्डोले आफ्नो करियरको कूल गोलसंख्या ७७० पुर्याए । यो पेलेको ७६७ गोलभन्दा ३ गोलले बढी हो ।

खेलपछि पेलेले सामाजिक सञ्जाल इन्सटाग्राममा पोष्ट गर्दै रोनाल्डोको प्रशंसासहित आफ्नो कीर्तिमान भंग गरेकोमा बधाइ दिए ।

पेलेले बधाइ दिएपछि रोनाल्डोले पनि इन्सटाग्राममा पेलेको प्रशंसा गर्दै पहिलो पटक कीर्तिमानबारे मुख खेलेका छन् ।

यद्यपि, पेलेको यो कीर्तिमान पनि विवादमा रहेको छ । चेक फुटबल एशोसिएसनले अस्ट्रिया र चेकोस्लोभाकियाका पूर्व स्ट्राइकर जोसेफ बिकानले ८२१ गोल गरेको दाबी गर्दै आएको छ । यद्यपि, रेक.स्पोर्ट.सकर.स्टाटेस्टिक फाउन्डेसनको रेकर्ड अनुसार बिकानले ८०५ गोल गरेका थिए । तर, यसमध्ये २७ गोल र्यापिड भियानाको रिजर्भ र एमेचुअर टोलीका लागि र अन्य थप केही गोल आधिकारिक नमानिएका अन्तर्राष्ट्रिय खेलहरुमा गोल गरेका थिए । त्यसैले उनको आधिकारिक गोल संख्या ७५९ गोल मानिएको छ ।

जीतसँगै लिगको तेस्रो स्थानमा रहेको युभेन्टसले शीर्ष स्थानमा रहेको इन्टर मिलानमाथि दबाब कायम राखेको छ ।

प्रकाशित : २०७७ चैत २ गते ८:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI