जग्गा नबेच्दा ज्यानै गयो

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १३ गते ८:०१
जग्गा नबेच्दा ज्यानै गयो

जलेश्वर : जग्गा बिक्री गर्न अस्वीकार गर्दा वृद्ध दम्पती मुसाफिर झा र उनकी पत्नी गीतादेवीको हत्या भएको पाइएको छ। महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडबाका झा दम्पतीलाई फागुन ११ गते राति ओछ्यानसहित बेपत्ता पारिएको थियो। उनीहरूको शव बोरामा पोको पारेर गाडेको अवस्थामा भेटिएको छ।

‘सुतेकै ठाउँमा धारिलो हतियारले दम्पतीको हत्या गरिको रहेछ। त्यसपछि घटना दबाउन उनीहरूको शव ओछ्यानमै बेरेर घरबाहिर लगेको देखियो’, महोत्तरीका एसपी दिनेश आचार्यले भने, ‘महिना दिनदेखि बेपत्ता पारिएको दम्पतीको शव पिपरा–१ एकरैयामा बोरामा राखेर जमिनमुनि गाडेको अवस्था भेटियो।’

मुसाफिर र गीताले लगाएका कपडा, हातको चुराका आधारमा उनीहरूको पहिचान परिवारजनले गरेका हुन्। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ।
वृद्ध दम्पतीलाई अपहरण गरी बेपत्ता बनाएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी चैत ८ गते सार्वजनिक गरेको थियो। स्थानीय रामबाबु यादव, उनका छोराहरू सुरेन्द्र र राजेन्द्रसहित भारतको बिहार मधुवनीका हरेन्द्र ठाकुर पक्राउ परेका हुन्। उनीहरूविरुद्ध बेपत्ता, अपहरण तथा शरीर बन्धकको उजुरी दर्ता गरी अनुसन्धान बढाइएको थियो। अब बेपत्ता दम्पतीको शव नै भेटिसकेकाले कर्तव्य गरी हत्या गरेको अभियोगमा थप मुद्दा लाग्ने प्रहरीले जनाएको छ।

हरेन्द्र जग्गा कारोबारी हुन्, उनका एजेन्ट रामबाबु। हरेन्द्रले सहोडबामा सस्तोमा किनेर १३ बिघा जग्गा प्लटिङ गरेका थिए। त्यसको उत्तरतिर मुसाफिरको १४ कट्ठा जग्गा छ। मुसाफिरको जग्गाभन्दा अझै उत्तरतिर हरेन्द्रकै दुई बिघा जग्गा पर्छ। बीचमा पर्ने जग्गा खरिद गरी हरेन्द्र बाटो निकालेर महँगोमा बिक्री चाहन्थें। तर, मुसाफिरले उनलाई आफ्नो जग्गा बेचेनन्।
प्रहरी अनुसनधानका अनुसार धुरको ५ लाखमा १५ बिघा जग्गा बिक्री गरी उनीहरू अर्बौंमा खेल्न चाहन्थे। तर, त्यस जग्गामा जान बाटो भने झा दम्पतीकै पर्छ। धम्काएर पनि आफ्नो जग्गा बिक्री नगरेपछि अन्ततः हत्यासम्म गरेको पाइएको एसपी आचार्यले बताए।

घटनास्थलमा भेटिएको रगतको छिटाले प्रहरीलाई हत्यारासम्म डोर्‍याएको पाइएको छ। ‘दम्पती सुतेको ठाउँमा रगतको छिटा देखिएको थियो। त्यहीबाट प्रहरीले घटना अनुसन्धान गरेको थियो। त्यो रगत अस्वाभाविक खालको थियो। हामीलाई त्यही शंका लागेको थियो’, एसपी आचार्यले भने, ‘खोज्दै जाँदा अभियुक्त रामबाबुको घरको दैलोमा पनि रगतको छिटा फेला पर्‍यो। दम्पतीको ओछ्याननजिकैको र अभियुक्तको दैलोमा देखिएको रगत परीक्षण गर्दा एउटै खालको फेला परेपछि रामबाबु र उनका छोराहरू सुरेन्द्र तथा राजेन्द्रलाई नियन्त्रणमा लिएका थियौं।’
ठाकुर र रामबाबुबीच सोही रात अस्वाभाविक फोन भएको भेटिएपछि प्रहरीलाई घटना अनुसन्धानमा बल पुगेको थियो। रामबाबुको घर र झा दम्पतीको घर २० मिटरको दूरीमा पर्छ।

रामबाबुले आफ्नो घरमा रहेको रगतको छिटा राति नै धोइपखाली गरेका थिए। हतारमा धुँदा पनि रगतको छिटा दैलोमा छँदैथियो। मुसाफिरले प्रयोग गर्ने सिमसहितको एक थान मोबाइल र एक जोर चप्पल प्रहरीले उनको घरबाट घटनालगत्तै बरामद गरेको थियो। झा दम्पती सुतेको ओछ्यान, झूल, सिरानी, डस्ना र सिरकसमेत भेटिएको छैन। ‘अभियुक्तहरूको पोलिग्राफ पनि गरिएको थियो। तर, उनीहरूले दिएको बयान झुटो बोल्यो’, एसपी आचार्यले भने, ‘दम्पती हत्यामा अझै धेरैको हात रहेको शंका छ।’-अन्नपूर्ण पोस्ट

प्रकाशित : २०७७ चैत १३ गते ८:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI