No ads found for this position

नवीन्द्रराजकी छोरीले भनिन् – आइ लभ यु बाबा, गुडबाई !

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १४ गते २०:५१
No ads found for this position
नवीन्द्रराजकी छोरीले भनिन् – आइ लभ यु बाबा, गुडबाई !
No ads found for this position

काठमाडौं । ललितपुरको सानेपास्थित नेपाली काँग्रेस केन्द्रीय कार्यालय परिसरमा शनिबार विहान १० बजेबाटै भीडभाड सुरु भयो । काँग्रेस कार्यकर्ता हातमा फूल बोकेर पूर्वगेटबाट कार्यालय प्रवेश गरिरहेका थिए । केहीले बाहिरबाटै फूल बोकेर आएका थिए भने केही प्रवेशद्वारमा बेच्न राखिएको फूल किन्दै थिए ।

गाडीमा आएकाले गाडी बाहिरै पार्किङ गरे । पार्टी कार्यालयको परिसरमा सबैलाई गाडी ल्याउन दिइएको थिएन । पार्टीका शीर्षस्थ नेताका गाडी मात्र कार्यालय परिसरमा थिए ।

बिहान ११ ः ३० बजे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएकाले काठमाडौं उपत्यकामा रहेका केन्द्रीय सदस्यहरु ११ बजे  नै सानेपा पुगिसकेका थिए । केन्द्रीय सदस्यसँगै काठमाडौं उपत्यका र त्यस वरिपरिका काँग्रेस कार्यकर्ता पनि सानेपा आइरहेका थिए ।

दिउँसो १२ बजेसम्म पार्टी कार्यालय परिसर नेता–कार्यकर्ताले भरिभराउ भइसकेको थियो । त्यहीबीचमा काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्यो । बैठकमा यसअघि जस्तो गुटगत कुराकानी भएन  । पार्टी सभापति शेरबहादुर देउवाले बैठकको अध्यक्षता गर्दै महामन्त्री पूर्णबहादुर खड्कालाई एजेण्डा प्रस्तुत गर्न लगाए । देउवाको निर्देशनमा खड्काले बैठकको एजेण्डा प्रस्तुत गरे ।

 

पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले ५९ वर्षको उमेरमा जीवनलीला त्यागेको विषयमा शोक प्रस्ताव पारित गर्ने बैठकको एकमात्र एजेण्डा थियो । जसमा चैत्र १५, १६ र १७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने  र उक्त दिनहरुमा शोकका कार्यक्रमहरु बाहेक पार्टीका अरु औपचारिक कार्यक्रमहरु नगर्ने प्रस्ताव खड्काले राखे ।

यस्तै चैत्र १७ गते मंगलबार केन्द्र तथा सबै जिल्ला कार्यालयहरु बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने कांग्रेस बैठकले निर्णय ग¥यो । यस्तै, जोशीको स्वर्गारोहणको १३ औँ दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दुरी कायम गर्दै शोक सभाको आयोजना गर्ने निर्णय पनि बैठकले ग¥यो ।

महामन्त्री खड्काद्वारा पेस गरिएको प्रस्ताव बैठकमा सहभागी सबैले हात उठाएर पारित गरे । अनि, नेता जोशीप्रति एक मिनेट मौनधारण गरेर बैठक सकियो । यता जोशीको शव उनको निवासबाट सानेपा ल्याइदिँदै थियो । जोशीको पार्थिव शरीर १२ बजे नै पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने भनिए पनि १ बजे मात्र शव सानेपा ल्याइपु¥याइयो । जोशीकी श्रीमती सपना र छोरी नीरिती भावविह्वल अवस्थामा सँगै आइपुगे ।

जोशीलाई श्रद्धाञ्जली अपर्ण गर्न पार्टी कार्यालयको एउटा छेउमा मञ्च बनाइएको थियो । शव त्यहीँ राखियो । शवको छेउमै रहेकी सपना र नीरितीले श्रीमान र पिता गुमाउनुको पीडा आँशुबाट बगाइरहेकी थिइन् । उनलाई केही महिलाले सम्हालिरहेका थिए । यहीबीचमा श्रद्धाञ्जली दिने क्रम सुरु भयो । पार्टी सभापति देउवाले पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरे । अनि शीर्षस्थ नेताहरुले पालैपालो श्रद्धाञ्जली दिए ।

श्रद्धाञ्जली दिनेको भीडमा सपना र नीरितीलाई उभिन गाह्रो भयो । उनीहरुलाई शवको केही पर राखिएका कुर्सीमा लगेर राखियो । तर,  छोरी नीरिती त्यहाँ बस्न तयार भइनन् । अनि काँग्रेस नेता प्रकाशमान सिंह ढाडस दिन पुगे । सपना र नीरितीलाई राखिएको ठाउँनजिकै अर्को कुर्सीमा बसेर सिंहले सान्त्वना दिए ।

सपना केही शान्त देखिए पनि नीरितीको चित्कार रोकिएन । जोशीलाई श्रद्धाञ्जली दिएर काँग्रेस नेता गगन थापा पनि सपना र नीरितीलाई राखिएको नजिकै कुर्सीमा बसे ।

त्यहीबीचमा नेकपा एमाले नेतृअष्टलक्ष्मी शाक्य पनि उनीहरु भएको ठाउँमा गइन् । केही समय बसेर बाटो लागिन् । त्यसको केही समयपछि सिंह पनि त्यहाँबाट उठे । उनीहरुको अवस्था देखेर भावविह्वल बनेका गगन थापा भने ढाडस दिइरहेका थिए । तर, उनी आफैं पनि आँशु बगाइरहेका थिए । नीरिती हातमा लगाएको औंठी खोल्दै लगाउँदै गर्दै थिइन् । दुई छोरीका पिता गगन थापा यस्तो दृश्य देखेर भावह्विल देखिन्थे ।

१३ वर्षीया नीरिती स्वर्गीय जोशीकी एक्ली सन्तान हुन् । बाबुको असीम माया ममताका साथ हुर्कँदै गरेकी नीरिती बाबुको मृत शरीर हेरेर त्यहाँ धेरै समय टिक्न सकिनन् । अनि एक महिलाको साहरामा उनी बाबुको शव राखिएको  ठाउँमा आइन् र मृत शरीर सुम्सुम्याउँदै गालामा चुम्बन गरिन् । केही समय उनको त्यो क्रम जारी रह्यो । त्यसपछि उनलाई सम्हालिरहेकी महिलाले त्यहाँबाट छेउमा दिने प्रयास गरिन् । तर, उनी मानिरहेकी थिइनन् । मुस्किलले पछि हट्दै गर्दा उनले भनिन्– ‘आई लभ यु बाबा, गुड बाई…..!

जोशीको शव पार्टी कार्यालयमै थियो । पत्नी सपना उता कुर्सीमा चित्कार छोडिरहेकी थिइन् । त्यतिबेलासम्म पार्टी कार्यालयमा मानिसको भीडभाड पातलिसकेको थियो ।

 

करिब तीन बजेतिर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जोशीलाई श्रद्धाञ्जली दिन सानेपा पुगे । उनी त्यहाँ पुग्दा काँग्रेसका अधिकांश नेता सानेपाबाट बाहिरिसकेका थिए । जोशीको शव भने त्यहीँ थियो । उपत्यका नजिकैका कार्यकर्ताहरु ४ बजेसम्म सानेपा आइरहेका थिए ।

बेलुका चार बजेपछि मात्र अन्त्येष्टिका लागि जोशीको शव आर्यघाट लगियो । महामन्त्री शशांक कोइराला लगायतका नेताहरु आर्यघाट पुगे । पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भने आर्यघाटमा देखिएनन् । उपत्यका बाहिर रहेका नेता पौडेल मौसमको खराबीका कारण काठमाडौं आउन नसकेकाले सानेपा र आर्यघाट दुबै ठाउँमा पुग्न नसकेका हुन् ।

आर्यघाटमा पनि नेता, कार्यकर्ता शुभेच्छुकको ठूलो भीड थियो । साँझ ६ बजेपछि जोशीको हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरियो । जोशीको पार्थिव शरीरमा उनका दाजु राजुराज जोशी र  भतिजा सौरभ जोशीले दागवत्ती दिएका थिए ।

प्रकाशित : २०७७ चैत १४ गते २०:५१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI