काठमाडाैँसहित देशका विभिन्न ठाउँमा वायु-प्रदूषण आज पनि उच्च, सतर्क रहन आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १५ गते १०:१६
काठमाडाैँसहित देशका विभिन्न ठाउँमा वायु-प्रदूषण आज पनि उच्च, सतर्क रहन आग्रह

काठमाडाैँ, १५ चैत । काठमाडाैँसहित देशका विभिन्न ठाउँमा वायु प्रदूषण आज पनि उच्च रहेकाे छ । केही दिनदेखि जारी प्रदूषणले घाम समेत लागेकाे छैन भने वायुकाे गुणस्तर खतराकाे तहमा रहेकाे छ ।

वातावरण विभागका अनुसार हाल नेपाल वायु प्रदूषणमा हानिकारक अर्थात् खतरापूर्ण अवस्थामा छ । यस अवस्थाबाट तल झर्न अझै केही दिन लाग्ने विभागले जनाएको छ । शुक्रवार विश्वकै सबैभन्दा धेरैे प्रदूषण भएको नेपाल अहिले तेस्रो स्थानमा झरेको छ । तर मौसम पहिलेकै अवस्थामा फर्कन अझै केही दिन लाग्ने विभागले जनाएको छ ।

 

भोलिसम्म प्रदूषणको अवस्था हिजोको जस्तै अवस्थामा रहने र पर्सिदेखि भने केही सुधारको सम्भावना रहेको विज्ञहरुले बताएका छन् । यस्तै आज दिउँसोपछि पहाडी क्षेत्रका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ ।

काठमाडौँ उच्च प्रदूषित

मुलुककै सबैभन्दा बढी वायु प्रदूषण काठमाडौँ शहरमा देखिएको छ । शुक्रबार र शनिबार काठमाडौँ विश्वकै प्रदूषित शहरहरुमध्ये १ नम्बरमा देखिएको थियो । वायुको गुणस्तरबारे इन्डेस अपडेट गरिरहने साइट आइक्यु एयर डट कमका अनुसार अहिले आइतबार पनि काठमाडौँ विश्वकै दोस्रो प्रदूषित शहरमा रहेको छ ।

हाल सबैभन्दा बढी वायु प्रदूषण चीनको राजधानी बेइजिङमा देखिएको छ । बेइजिङ वायुकाे गुणस्तरमा १८२४ इन्डेक्सका साथ पहिलो प्रदूषित शहरको रुपमा रहेको छ भने काठमाडौँ २४५ इन्डेक्ससहित विश्वकै दोस्रो बढी प्रदूषित शहरको रुपमा रहेको छ । यद्यपि यो इन्डेक्स दिउँसोसम्म घटबट भइसक्नेछ ।

 

प्रकाशित : २०७७ चैत १५ गते १०:१६
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI