बागलुङमा होली खेल्ने क्रममा झडप, दुई युवाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १५ गते २१:४६

बलेवा । बागलुङको बडिगाड गाउँपालिका–१०, दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्ति हताहती भएको बताइएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नम्बर–९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए ।

गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु र केही युवा घाइते भएको हुन सक्ने खत्रीले आशंका गरे ।

मृत्यु हुनेमा ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइँ रहेका छन् । उनीहरुको शव बल्देधुरी भिरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक इग्वाल हवारीले जानकारी दिए । घटनास्थल मानव बस्तीभन्दा केही टाढा रहेको र त्यहाँ प्रहरी तथा जनप्रतिनिधि पुग्न समय लागेकाले घटनाको विवरण आउन समय लागेको हो ।

आज दिउँसो बडिगाड–१०, बल्देधुरीमा तीन जिल्लाका करिब ६०० जना उपस्थित भएका थिए । स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका–७ र बडिगाड–१० का केही युवा बेपत्ता भएको आशंका गरिएको छ । घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुन सक्ने स्थानीयवासीले बताएका छन् ।

घटनापछि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको इलाका प्रहरी कार्यालय भीमगिठेले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ । रासस

प्रकाशित : २०७७ चैत १५ गते २१:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI