सात बुँदे साझा घोषणपत्र जारी गर्दै गैडाकोटका सामाजिक शिक्षकहरुको कार्यशाला सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १८ गते १८:२३
सात बुँदे साझा घोषणपत्र जारी गर्दै गैडाकोटका सामाजिक शिक्षकहरुको कार्यशाला सम्पन्न

गैंडाकोट । शिक्षा युवा तथा खेलकुद शाखा गैंडाकोटको आयोजना तथा नगर स्तरीय सामाजिक बिषयगत समितिको संयोजन तथा नारायणी मा .विको व्यवस्थापनमा एक दिवशीय बिषयगत छलफल तथा प्रश्नपत्र निर्माण कार्यशाला सात बुँदे साझा घोषणापत्र जारी गर्दै बुधबार नारायणी माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको छ ।

प्रत्येक विद्यालयमा सामाजिक विषयगत समिति निर्माण गर्ने, सामाजिक बिषय शिक्षणमा आएका समस्याहरु पहिचान गरि बिषयगत समितिमा छलफल गरि समाधान गर्ने,शिक्षण कार्ययोजना निर्माण गरि शिक्षण गर्ने, बिषयगत समस्या समाधानका लागि समय समयमा बिज्ञहरुको उपस्थितिमा तालिम, गोष्ठि ,कार्यशालाको आयोजना गर्ने,परिक्षा संचालन र मूल्याड्ढनलाई व्यवस्थित गरिनुपर्ने,प्रश्नपत्र निर्माण गर्दा बिषयगत समितिलाई जिम्मेवारीता दिइनुपर्ने,आगामी शैक्षिक शत्रबाट सामाजिक बिषय नेपाली भाषामा पढाइनुपर्ने र आगामी बार्षिक परिक्षामा सामाजिक विषयमा अघिल्लो त्रैमासिक परिक्षा भन्दा पाँच प्रतिशत बृद्धि गर्ने प्रतिवद्धता घोषणा पत्रमा जारी गरिएको छ ।

कार्यक्रमको पहिलो शत्रमा शुभकामना मन्तव्य राख्दै गैंडाकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष एवं नारायणी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष चोलानाथ उपाध्यायले बिषयगत छलफलले सिकाइ क्षमता विकासमा सहयोग पुर्याउने कुरामा जोड दिनुभयो । शिक्षण सिकाइका क्रममा देखा परेका समस्या र समाधानका उपायहरु पत्ता लगाउने उद्देश्यले यस किसिमको कार्यक्रम आयोजना गरिएको शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत मोतिप्रसाद रिजालले बताउनुभयो । प्रश्नपत्र निर्माण पाठ्यक्रमले तोके अनुसार बिशिष्टिकरण तालिका अनुसार निर्माण गरि एकरुपता ल्याउन कार्यशालाले सहयोग पुर्याउने कुरा अधिकृत रिजालले बताउनुभयो । कार्यशालामा स्वागत मन्तव्य विषयगत समिति सदस्य राजु पुरीले राख्नुभएको थियो ।
कार्यशालाको दोस्रो शत्रमा प्राथमिक,निम्न माध्यमिक र माध्यमिक तह गरि तीन स्थानमा सामाजिक बिषय अध्यापन गने शिक्षकहरुको छुट्टाछुट्टै कार्यशाला सञ्चालन गरिएको थियो । प्राथमिक तहको सहजीकरण भुवन आले र गोकुल सिलवाल ,निम्न माध्यमिक तहको सहजीकरण राजु पुरी र जगन्नाथ उपाध्याय ,माध्यमिक तहको सहजीकरण मिलन श्रेष्ठ ,गीता थापा र सोमनाथ न्यौपानेले गर्नु भएको थियो । कार्यशालामा सामाजिक बिषय शिक्षणमा स्वयं शिक्षक ,विद्यालय,स्थानीय सरकार बाट भएका समस्या कमी कमजोरी,एवं मूल्याङ्कन प्रणालीमा रहेका समस्या र ति समस्या समाधानका उपायहरुका बारेमा समूहगत छलफलबाट निचोड निकालिएको थियो । नगरस्तरीय सामाजिक बिषयगत समिति संयोजक मिलन श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यशालाको सहजीकरण जगन्नाथ उपाध्यायले गर्नु भएको थियो ।

प्रकाशित : २०७७ चैत १८ गते १८:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI