No ads found for this position

नेपालसँग स्टकमा भएको भ्याक्सिनको म्याद गुज्रिने खतरा

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १९ गते ७:४१
No ads found for this position
नेपालसँग स्टकमा भएको भ्याक्सिनको म्याद गुज्रिने खतरा
No ads found for this position

काठमाडौं। नेपालको खोप अभियान संकटमा परेको छ । नेपालसँग अब बाँकी भएको भ्याक्सिनको स्टकको म्याद गुज्रिने जोखिम बढेको छ । नेपालसँग अहिले स्टकमा भएको ‘कोभिशिल्ड’ भ्याक्सिन तत्कालै उपयोग नगरिए यी सबैको म्याद गुज्रिनेछ र यो भ्याक्सिन उपयोग गर्न मिल्ने छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार नेपालमा अहिलेसम्म २३ लाख ४८ हजार डोज ‘कोभिशिल्ड’ खोप आएको छ । यो खोप अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको हो र यसको उत्पादन भारतको सिरम इन्स्टिच्युटले गरिरहेको छ। नेपाल आएको यो डोजमध्ये १८ लाख डोज खोप लगाइसकिएको छ। बाँकी पाँच लाख ४८ हजार डोज बाँकी छ ।

यसबाहेक सोमबार चीनले दिएको खोप ८ लाख डोज आइपुगेको छ । चीनले बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले उत्पादन गरेको भोरोसेल खोप दिएको हो । पहिले कोभिशिल्ड लगाइसकेकालाई दोस्रो मात्रा पनि कोभिशिल्ड नै दिनुपर्ने भएकोले ‘भोरोसेल’ कसलाई दिने भन्ने योजना बनिसकेको छैन ।

अहिले म्याद गुज्रिने जोखिममा परेको भ्याक्सिन कोभिशिल्ड हो । यो भ्याक्सिनको प्रयोग अवधि मात्रै ६ महिना हो । उत्पादन मितिले ६ महिनाभित्र प्रयोग नगरिए यो भ्याक्सिन काम लाग्दैन । कोभिशिल्ड उत्पादन गर्ने सिरम इन्स्टिच्युट अफ इण्डियाका निर्देशक डा. सुरेश जाधवले गएको जनवरी महिनाको चौथो हप्ता बिजनेस टुडेसँग कुरा गर्दै कोभिशिल्डको प्रयोग अवधि ६ महिना मात्र भएको बताएका थिए ।

 

सिरमलाई भारत सरकारले २०२० को अक्टोबर–नोभेम्बरमै उत्पादनको स्वीकृति दिएको थियो । त्यतिबेला कोभिशिल्डको ट्रायल सकिएको थिएन । त्यसैले भारत सरकारले सिरम इन्स्टिच्युटलाई भ्याक्सिन उत्पादन गरेर स्टकमा राख्न भनेको थियो । पछि यो भ्याक्सिनको ट्रायल पूरा भएर भ्याक्सिनले स्वीकृति पाएपछि त्यही पहिले नै उत्पादित भ्याक्स्नि विभिन्न देशहरुलाई पठाइएको थियो ।

जाधवका अनुसार कोभिशिल्डले स्वीकृति पाएपछि भारत सरकारले सुरुमै २ करोड डोज लिएको थियो । भारत सरकारले लिएको यही २ करोड डोजमध्येबाट नेपाललाई १० लाख डोज अनुदानमा उपलब्ध गराएको थियो । भारत सरकारले सिरमलाई उत्पादन अनुमति दिएको मितिको हिसाबले त्यतिबेला उत्पादिन भ्याक्सिनको म्याद अप्रिल–मे महिनामा गुज्रिन्छ ।

भोलि बिहीबार अप्रिल महिनाको १ तारिख हो अर्थात यो भ्याक्सिन अहिले अन्तिम समयमा छ । नेपालसँग ५ लाख ४८ हजार डोज खोप बाँकी छ । यो खोप म्याद नगुज्रिँदै उपयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने गम्भीर प्रश्न यतिबेला उठेको छ । नेपालले भारतसँग किनेको १० लाख डोज नै भारतले पठाउन नमानिरहेका बेला स्टकमा भएको भ्याक्सिनको समेत म्याद गुज्रिने स्थिति आउने जोखिम बढेको छ ।

अर्कोतिर पहिलो डोज लगाइसकेकाहरुले दोस्रो डोज पाउन पनि कठिन भएको छ । स्वास्थ्य मन्त्रालयले खोप लगाइसकेपछि खोप लगाएकाहरुलाई दिएको खोप कार्डमा पहिलो डोज लगाएको १ महिनापछि दोस्रो डोज लगाउने लेखिएको छ । तर, पहिलो डोज लगाएको २ महिनाभन्दा धेरै समय बितिसक्दा पनि पहिलो डोज लगाएकाहरुले दोस्रो डोज पाउन सकेका छैनन् ।

नेपालमा खोप अभियान माघ १४ मा सुरु भएको थियो । माघ १४ कै दिन खोप लगाएकाहरुले पहिलो डोज लगाएको चैत १४ मा २ महिना पूरा भएर पनि अझै केही दिन भइसकेको छ । उनीहरुले दोस्रो डोज पाएका छैनन् र तत्काल पाउने सम्भावना पनि छैन किनकि भारतले अहिले खोप निर्यातमा रोक लगाएकोले तत्काल खोप नेपाल आउने सम्भावना छैन ।

प्रकाशित : २०७७ चैत १९ गते ७:४१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI