भूमि आयोगद्धारा गाउँपालिकामा लगत संकलन सम्बन्धि अभिमुखिकरण

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत २० गते ८:४९
भूमि आयोगद्धारा गाउँपालिकामा लगत संकलन सम्बन्धि अभिमुखिकरण

मोहन पौडेल/परासी । भूमि सम्बन्धि समस्या समाधान आयोग पश्चिम नवलपरासीले जिल्लाका विभिन्न स्थानीय तहमा लगत संकलनका बारेमा अभिमुखिकरण गरेको छ ।
जिल्लाको पाल्हीनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी, राजनीतिक दल र सहजीकरण समितिका पदाधिकारीहरुलाई सम्बन्धित पालिकामै गई छुट्टाछुट्टै अभिमुखिकरण गराइएको आयोगले जनाएको छ ।
अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रममा आयोगका जिल्ला अध्यक्ष विमला अर्यालले तत्कालै लगत संकलन गरी नापी कार्य अघि बढाउनका लागि पालिकाहरुलाई प्रक्रिया थाल्न अुनरोध गर्नुभयो । उहाँले सहभागिबाट प्राप्त जिज्ञासाको जवाफ पनि दिनुभएको थियो । लगत संकलनको विषयमा सुनवल नगरपालिकाका भूमि लगत संकलन ईकाईका फोकल पर्सन गणेश न्यौपानले सहजीकरण गर्नुभएको थियो ।
कँही कतै आफ्नो र परिवारको नाममा जग्गा नभएकाले अनुसूचि ३ को ‘भूमिहीन सुकुम्बासी’ फारम भर्नुपर्ने, अन्यत्र केही जग्गा समेत भएको तर १० वर्षअघिदेखि आफुले ऐलानीपर्ति जग्गा जोतभोग गर्दै आएकाले अनुसूचि ४ को ‘अव्यवस्थित बसोबास’को फारम भर्नुपर्ने विषयमा जानकारी गराउँदै फारम भर्ने तरिकाका बारेमा स्पष्ट पारिएको आयोगले जनाएको छ ।
पछिल्लो पटक सम्झौता गरिएका गाउँपालिकाहरुमा यो तेस्रो चरणको अभिमुखिकरण गरिएको अध्यष अर्यालले बताउनुभयो । बुधबार पाल्हीनन्दनमा भएको उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ताको अध्यक्षता, विहीबार प्रतापपुरमा भएको कार्यक्रम कार्यबाहक गाउँपालिका अध्यक्ष अन्जु चौधरीको अध्यक्षता र सुस्तामा भएको कार्यक्रम गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेको अध्यक्षतामा भएको थियो भने आयोगका जिल्ला सदस्य कृष्णप्रसाद बगाले, विज्ञ सदस्य बद्रीमान श्रेष्ठ लगायतको पनि सहभागिता थियो ।

प्रकाशित : २०७७ चैत २० गते ८:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI