कांग्रेसद्वारा प्रधानमन्त्रीको राजीनामा माग

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत २१ गते ८:३९
कांग्रेसद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । शुक्रबार राति अबेर बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा अन्य दलसहितको गठबन्धन बनाएर सरकार गठनको पहल गर्ने निर्णय गरेको हो ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र नयाँ सरकारका लागि ओलीको विकल्प दिन आफ्नै नेतृत्वमा पहल गर्ने निर्णय गरेको जानकारी दिए ।

‘बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको छ, प्रधानमन्त्रीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउनेगरी पहल गर्ने निर्णय कांग्रेस बैठकले गरेको हो,’ कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य पौडेलले राजधानीसँग भने ।

शुक्रबार दिउसो २ बजेका लागि बोलाइएको बैठक एजेन्डामा सहमति जजुटेपछि राति ८ बजेपछि सुरु भएको थियो । बैठकको एजेन्डामा सरकारको विकल्प खोज्नेबारे विषय समावेश नभएपछि कांग्रेसभित्र विवाद देखिएको थियो ।

सरकारको विकल्प खोज्नुपर्ने विषयलाई एजेन्डा बनाउनुपर्ने कांग्रेसभित्रको वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहको अडानपछि सभापति शेरबहादुर देउवासहितका नेता शीर्ष तहमा छलफलमा बसेका थिए ।

शीर्ष तहको छलफलबाट प्रधानमन्त्री ओलीको राजीनामा माग्ने विषय बैठकको एजेन्डा बनाउने सहमति भएपछि कांग्रेसले केन्द्रीय समिति बैठकमा सो प्रस्ताव लगेर निर्णय गरेको हो ।

महाधिवेशन कार्यतालिका संसोधन
कांग्रेस केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाउने समयसमेत थप गरेको छ । नयाँ तथा पुराना क्रियाशील सदस्यको विवरण गत १० चैतसम्म केन्द्रमा बुझाउन कांग्रेसले समय तोकेको थियो । तर, शुक्रबारको बैठकले सो समय चैत महिनाभित्रलाई थप गर्ने निर्णय गरेको हो ।

कांग्रेस पार्टी कार्यालयका अनुसार हालसम्म ६८ जिल्लाले मात्रै कांग्रेसले तयार गरेको अनलाइन प्रविधिमा सदस्यतासम्बन्धी विवरण पठाउन सुरु गरेका छन् । अझै नौ जिल्लाले सदस्यताको विवरण नै पठाउन सुरु गरिसकेका छैनन् । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार हालसम्म करिब ५ लाख नयाँ तथा पुराना सदस्यको विवरण अनलाइन प्रणालीमा इन्ट्री भइसकेको छ ।

शुक्रबारको बैठकमा कार्यतालिका हेरफेरसम्बन्धी प्रस्ताव महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेका थिए । यस्तै, बैठकमा अन्य पार्टीबाट कांग्रेसमा आएका नेता कार्यकर्ताको समायोजनका विषयलाई समेत अन्तिम रूप दिने विषयमा सहमति जुटेको छ । सोसम्बन्धी प्रस्ताव बैठकमा उपसभापति विमलेन्द्र निधिले लगेका थिए ।

जसअनुसार सहमहामन्त्री सुनिल थापा समूहलाई ४८ जिल्लामा १० हजार ५ सय १८ जनालाई क्रियाशील सदस्यता दिने निर्णय भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट थापा गत भदौमा कांग्रेस प्रवेश गरेका थिए ।

प्रकाशित : २०७७ चैत २१ गते ८:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI