देउवाको नेतृत्वमा अबको सरकार बन्छ : महामन्त्री कोइराला

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत २२ गते १३:२९
देउवाको नेतृत्वमा अबको सरकार बन्छ : महामन्त्री कोइराला

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक समस्या समाधान गर्न र आवश्यक परे सरकारको नेतृत्व लिन पनि नेपाली कांग्रेस तयार रहेको बताएका छन् ।

गाईघाटस्थित लोकतान्त्रिक चौकमा आज आयोजित नेपाल राष्ट्रिय मगर सङ्घ प्रदेश नं १ को भेलामा उनले भने, ‘नेकपा एमाले र माओवादी केन्द्र फुटेर झगडामा लागेपछि अहिले देशमा राजनीतिक सङ्कटसँगै सरकार पनि सङ्कटमा परेको छ ।’

महामन्त्री कोइरालाले अहिले देशको तत्कालीन अवस्थाको राजनीतिक समस्या समाधान गर्न र देशलाई सङ्कटबाट बचाउनका लागि आवश्यक परे नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न तयार रहेको उल्लेख गर्दै काँग्रेसले मात्र देशलाई सही निकास दिन सक्ने दाबी गरे ।

‘पाँच वर्षका लागि कम्युनिष्टलाई जनताले मतदान गरेर बहुमत दिई सत्तामा पु-याएका कारण काँग्रेसले प्रतिपक्षको मात्र धर्म निर्वाह गर्दै आएको छ तर अहिले देशको अवस्था झनै जटिल बन्दै गएकाले काँग्रेस सरकारको नेतृत्व लिन तयार रहेको छ’, उनले भने ।

महामन्त्री कोइरालाले काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा अबको सरकार बन्न सक्ने र देशलाई निकाश दिएर आवश्यक परे ताजा जनादेशमा गई राजनीतिक निकास दिने बताए । मुलुकको प्रजातान्त्रिक आन्दोलनमा मगर जातिको ठूलो योगदान रहेको भन्दै उनले पछाडि परेका मगर जातिको उत्थानका लागि उनीहरुलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा उदयपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य डा नारायण खड्काले अहिले देशमा राजनीतिक सङ्कट कम्युनिष्ट नेतृत्वको सरकारले ल्याएकाले अब कम्युनिष्टबाट देशको समस्या समाधान नहुने बताए ।

काँग्रेसका नेता भीष्मराज आङेम्बेले भन्नुभयो, “जब–जब देशमा राजनीतिक सङ्कट आएको छ । त्यसको समाधान काँग्रेसले नै गरेको छ । त्यसैले अब काँग्रेसले सरकारको नेतृत्व लिने बेला आएको छ ।”

नेपाली काँग्रेसका नेता रामहरि खतीवडा, लक्ष्मी परियार, प्रमिला राईलेलगायतले मुलुकको विद्यमान राजनीतिक अवस्थाको विविध पक्षमाथि धारणा राखेका थिए ।

प्रकाशित : २०७७ चैत २२ गते १३:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI