व्यावसायिक माछापालनमा रमाउदै युवा व्यवसायी सुर्य दुबे

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत २७ गते ८:४६
व्यावसायिक माछापालनमा रमाउदै युवा व्यवसायी सुर्य दुबे

मोहन पौडेल/परासी, २७ चैत – भाषणले मात्रै आर्थिक समृद्धि प्राप्त हुने होईन्, यसका लागि उत्पादनमा लाग्नुपर्दछ र आफैले पनि योगदान गर्नुपर्छ भन्ने भावनालाई आत्मसाथ गर्दै नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)का एक राजनीतिज्ञ एवं युवा व्यवसायी कृषिमा लाग्नुभएको छ ।
राजनीतिसँगै व्यवसायिक क्षेत्रमा सफल सुनवल–१२ भूमहीका सुर्य दुवे अहिले व्यवसायिक माछापालन र पशुपालनमा व्यस्त हुनुहुन्छ । तीनवर्ष अघि शुरु गरेको कृषि कार्यबाट आफू सन्तुष्ट र खुशी रहेको उहाँ बताउनुहुन्छ । हरकट्टा–बैकुण्ठपुर महामाया सडक खण्ड नजिकै रामनगर एग्रोफार्म सञ्चालन गर्दै आउनुभएका दुवेले सात विघा क्षेत्रफलमा माछापालन र पशुपालन गर्नुभएको छ ।
४५ कठ्ठामा सात वटा माछा पोखरी रहेका छन् बाँकी भागमा तीन वटा खोरमा कुखुरा,टर्की पालन र केही भागमा घाँस खेती पनि गरिएको छ । माछापालनबाट मात्रै पहिलो वर्षमा खासै राम्रो आम्दानी नभएपनि दोस्रो वर्षमा सबै खर्च कटाएर रु पाँच लाख आम्दानी गर्न सफल भएको उहाँ बताउनुहुन्छ । जग्गा बाहेक रु तीस लाखको लगानीमा व्यवसायिक कृषि शुरु गर्नुभएका दुवेले आफ्नो फार्ममा चार जनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छ ।
“कृषिमा केही योगदान गर्नुपर्छ भन्ने लागेपछि अरु भन्दा सजिलो लागेर माछापालन शुरु गरेँ, माछालाई नियमित दाना दिन छुट्टै जनशक्तिको आवश्यकता परेपछि उसको फुर्सदको समयलाई सदुपयोग गर्न लोकल÷बोईलर कुखुरा र टर्की पालनलाई पनि विस्तार गरेको हुँ, एक जनाको परिवार नै यहाँ बसेर आफ्नो जीविको पार्जन गर्दै आउनुभएको छ”, उहाँले भन्नुभयो ।
गर्मीको समयमा बोईलर कुखुरा र चिसो मौसममा लोकल कुखुरा र टर्की पालन गर्दै आएको उहाँले बताउनभुयो । लुम्बिनी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले शुरु गरेको कृषिकर्मी रोजगार कार्यक्रम अन्र्तगत उहाँले चारै जना रोजगारकर्मीलाई सूचिकृत पनि गर्नुभएको छ ।
उक्त कार्यक्रमबाट सरकारले रोजगारकर्मीको मासिक ४० प्रतिशत ज्याला व्यहोर्ने गर्छ । उहाँको फार्ममा अहिले माछापोखरीमा पन्ध्र हजार भुरा छोडिएको छ भने एक हजार पाँच सय कुखुरा र ३०० टर्की रहेका छन् । फार्मको वरपर तीन हजार लहरे पिपल, दुई सय बढी कागती, आँप र लिचीका विरुवा लगाईएको छ ।
उहाँले बैङ्कबाट रु एक करोड ९० लाख सहुलियत व्याजमा कृषि ऋण लिएर लगानी गर्नुभएको छ । सरकारबाट विभिन्न किसिमका कृषि सामग्रीमा अनुदान पनि प्राप्त गर्नुभएको छ । मत्स्य विकास केन्द्रको पचास प्रतिशत लागतमा रु आठ लाखको मत्स्य विक्री केन्द्र निर्माण गर्नुभएको छ ।
कृषिमा लाग्न चाहने युवाका लागि राज्यबाट निकै प्रोत्साहन र धेरै खालका सुविधाहरु रहेको उहाँ बताउनुहुन्छ । “राज्यले दिने अनुदानको कतिपयले दुरुपयोग गरेर गलत फाईदा लिएका छन् तर अनुदानको सही सदुपयोग गरी अनुशासित र मिहेनती हुने हो भने कृषिमा राम्रो सम्भावना छ, यसबाट हामीले धेरै फाईदा लिन सकिन्छ”, उहाँले भन्नुभयो ।
यहाँ उत्पादन हुने माछा,कुखुराको लागि बजारको अभाव नभएको उहाँ बताउनुहुन्छ । व्यवसायीहरु फार्ममै आएर खरिद गर्ने गरेका छन् । धेरै उत्पादन भएकोले बेला भने स्थानीय हाटबजारका व्यवसायीलाई विक्री गर्ने गरिएको छ । उपभोक्ताले पनि भारतबाट आयातित माछा भन्दा यहाँ उत्पादन हुने माछा रोज्ने गरेको उहाँ बताउनुहुन्छ ।
पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने सोचाईलाई तीनै तहका सरकारले ल्याएका कृषि कार्यक्रमले निर्मुल पार्दै गएको उहाँको अनुभव छ । “उत्पादनमा नलागेसम्म समृद्धि सम्भव छैन,समृद्धिका लागि राज्यले के ग¥यो भन्नुभन्दा मैले के योगदान गरेँ भन्ने तर्फ पनि हामीले हेक्का राख्नुपर्छ”, उहाँ भन्नुहुन्छ ।
नवलपरासीमा दुई वटा पेट्रोल र एक मट्टितेल पम्प,काठमाडौँको सुनधारामा गेष्ट हाउस रहेको छ भने भैरहवामा तीन तारे होटल निर्माणाधिन अवस्थामा रहेपनि यी व्यवसायबाट उत्पादन नहुने भएकोले उत्पादनमा योगदान दिन आफू कृषि क्षेत्रमा लागेको दुवेको भनाई छ ।
भाषणले मात्र समृद्धि नआउने भएकोले राजनीतिमा लाग्नुभएका नेताहरु पनि उत्पादनमा लाग्नुपर्ने उहाँको सुझाव छ । “भारतबाट आउने अर्बाैँको खाद्यन्न आयातलाई न्यूनीकरण गरी आत्मनिर्भर हुन पनि सबैले सक्दो उत्पादनमा योगदान गर्नुपर्छ भन्ने मेरो जोड हो”, उहाँले भन्नुभयो । कृषि क्रान्तिका कुरा गर्ने तर तरकारी किनेर खाने प्रवृत्ति अन्त्य गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

प्रकाशित : २०७७ चैत २७ गते ८:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI