उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष भण्डारी जनसेवा श्री पदकबाट विभूषित

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत २७ गते २०:२१
उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष भण्डारी जनसेवा श्री पदकबाट विभूषित

परासी, २७ चैत । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी नेपाल सरकारबाट जनसेवा श्री पञ्चम पदकबाट विभुषित हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएका महानुभावलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा भण्डारीसहितका व्यक्तित्वहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गर्नुभएको हो ।
संविधान दिवस २०७६ को अवसरमा विभूषण प्रदान गर्ने घोषणा भए बमोजिम नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा गरेको योगदानको मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको जनाईएको छ । यस्तै पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक पनि प्रवल जनसेवा श्री पदकबाट विभुषित हुनुभएको छ ।
नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ । विभूषित हुनेहरुको सूची गृहमन्त्रालयको वेबसाइटमा समावेश गरिएको छ । गत वर्ष विभूषण समितको सिफारिसमा मानपदवीतर्फ महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट दुई, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीबाट सात, उज्जल कीर्तिमय राष्ट्रदीप द्धितीय श्रेणीबाट एक, प्रसिद्ध जनसेवाश्री द्धितीय श्रेणीबाट एक, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट नौ, सुप्रबल जनसेवाश्री तृतीयबाट ११२, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीबाट आठ, प्रबल जनसेवाश्री चतुर्थबाट २००, जनसेवाश्री प्रथमबाट ११०, अलङ्कारतर्फ १५५ र पदकतर्फ २८ गरी ६३३ लाई विभूषित गरिने घोषणा भएको थियो ।
विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री र्ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री रामबहादुर थापा, तोकिएका विज्ञ र गृहसचिव महेश्वर न्यौपाने सदस्यसचिव रहेको विभूषण समितिको बैठकले उक्त सिफारिस गरेको हो ।

प्रकाशित : २०७७ चैत २७ गते २०:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI