No ads found for this position

ओलीलाई चौथोपटक हटाउँदैछौँ : प्रचण्ड

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत २९ गते १९:३६
No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले केपी ओलीलाई तीन पटकसम्म प्रधानमन्त्रीबाट हट्नैपर्ने स्थितिमा पुर्‍याएको बताउँदै अब चौथोपटक प्रयास गर्ने बताएका छन्। आइतबार चितवनमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले चौथो प्रयास के हुन्छ भन्‍ने बारेमा केही दिनमै थाहा हुने बताए।
‘केपी ओलीलाई हामीले तीनपटक प्रधानमन्त्रीबाट हटायौं। एकपटक हामीले संसदीय दलको बहुमतको हस्ताक्षर गरेर संसद् सचिवालयमा लगेर दर्ता गर्यौं। उहाँलाई दलको नेताबाट हटाइयो। र, प्रचण्डलाई सर्वसम्मत दलको नेता बनाइयो। त्यसअनुसार हाम्रो संविधानले, हाम्रो ऐन कानुनले दल नेता नरहेपछि प्रधानमन्त्री स्वत: खारेज हुन्छ। प्रधानमन्त्री पद जान्छ। जानैपर्ने हो। किनकि, हामीले संसदीय दलको नेताबाट हटाइदियौं,’ उनले भने।

प्रचण्डले यस विषयमा आफूले कुनै राजनीतिक भाषा नबोलेको बरु कानुनी र संवैधानिक रुपमा त्यसो हुनुपर्ने बताए।

उनले दोस्रो उदाहरण तत्कालीन नेकपाको ७० प्रतिशत सदस्यले ओलीलाई पार्टी सदस्यबाट हटाउने निर्णय गरेको सन्दर्भलाई उल्लेख गरे। ‘उहाँले राष्ट्र विरोधी काम गरेको, लोकतन्त्र विरोधी काम गरेको, संविधान विरोधी काम गरेको, पार्टी अनुशासन पालना नगरेको कारणले उहाँलाई हटाइयो। हामीले संविधान र कानुनअनुसार हटायौं भनेर निर्वाचन आयोगमा आफैं उपस्थित भएर पनि भन्यौं। तर, निर्वाचन आयोगले निर्णय गरेन। जुन निर्णय गर्नैपर्थ्यो। ७० प्रतिशतलाई मान्यता नदिएर ३० प्रतिशतलाई मान्यता दिइराख्‍न मिल्दै मिल्दैन। तर त्यही भयो,’ उनले भने।

तेस्रो उदाहरण उनले प्रतिनिधिसभा पुनःस्थापनापछि ओलीले राजीनामा दिनुपर्ने तर नदिएको सन्दर्भलाई उल्लेख गरे। ‘उहाँले संसद् विघटनको प्रस्ताव गर्नुभयो। हामीले त्यसलाई असंवैधानिक र अलोकतान्त्रिक छ भन्यौं। अरु पार्टीहरुले पनि भने अन्ततः जनता सडकमा लाखौंको संख्यामा उत्रियो र अदालतले पनि देखिसकेपछि संसद् पुनःस्थापना गर्नपर्छ भनेर निर्णय भयो,’ उनले भने, ‘यति ठूलो निर्णय प्रधानमन्त्रीले गरेको र त्यसका विरुद्ध अदालतले फैसला गरेपछि तुरुन्तै प्रधानमन्त्रीबाट हट्नुपर्छ। दुनियाँको कोही पनि मान्छे बसिराख्दैन, लाज पचाएर। घिन पचाएर।’
प्रचण्डले सहमति भयो भने कांग्रेसको नेतृत्वमा सरकार बन्‍नसक्ने बताए। ‘लोकतन्त्र र केपीको निरंकुशताको विरुद्धमा उभिने मिलेर सरकार बनाउँछौं,’ उनले भने।

प्रकाशित : २०७७ चैत २९ गते १९:३६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI