मौसम बदली भएसँगै वायु प्रदूषण फेरि बढ्यो, अपराह्नपछि वर्षाको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ३० गते ८:४८
मौसम बदली भएसँगै वायु प्रदूषण फेरि बढ्यो, अपराह्नपछि वर्षाको सम्भावना

काठमाडौँ । आज मौसम बदली भएर घाम लागेको छैन । साथै वायुको गुणस्तर खस्किएकाले पनि घाम नलागेको र चिसो समेत बढेको छ ।

हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले मौसम बदली भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका अधिकांश भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने धेरै स्थानहरूमा तुँवालो रहेकाले वायु प्रदूषण पुनः बढेको छ ।

 

संसारका मुख्य शहरहरुको वायुको स्वच्छताबारे अपडेट दिने आइक्युएयरका अनुसार काठमाडौँ अहिले संसारकै बढी प्रदूषित शहरको पहिलो नम्बरमा रहेको छ । केही दिन एक्युआइ (वायु गुणस्तर सूचक) मा प्रदूषणको मात्रा केही घटेको थियो । तर मौसममा खराबी आएसँगै र देशका विभिन्न भागमा डँढेलो लाग्नुका साथै तुँवालो समेत बढेकाले वायु गुणस्तर पुन खस्किएको हो । हाल (सोमबार बिहान) काठमाडौँको एक्युआइ २२० रहेको छ ।

वर्षाको सम्भावना

सोमबार दिउँसो सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा मौसम प्रायः सफा रहने महाशाखाको पुर्वानुमान छ । तर देशका पहाडी भूभागका केही स्थानहरुमा भने अपराह्नपछि मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । तुँवालोको असर भने प्राय सबैतिर रहने जनाइएको छ ।

आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । मौसमको यो बदलीपूर्ण अवस्था भोलि र पर्सिसम्म नै रहने महाशाखाको अनुमान छ ।

प्रकाशित : २०७७ चैत ३० गते ८:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI