कोरोनाको दोस्रो लहर : कस्तो छ नवलपुरमा तयारी ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ३० गते १५:१९
कोरोनाको दोस्रो लहर : कस्तो छ नवलपुरमा तयारी ?

सन्जय भट्टराई/नवलपुर । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा पनि देखापरेको भन्दै सतर्कता अपनाउन सरकारले आग्रह गरे सँगै जिल्लामा पनि यसको तयारी सुरु गरिएको छ ।

मध्यविन्दु जिल्ला अस्पतालमा आईतबार १४ जनाको पिसिआर परिक्षण गर्दा ३ जनामा कोरोना संक्रमण देखिए सँगै जिल्ला बासीमा भने त्रास फैलिएको छ ।

कोरोनाको दोस्रो लहर देखिए सँगै जिल्लामा आफुहरु तयारीमा जुटेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए । अहिले जिल्लाको भारत सँग जोडिएको एक मात्र नाका त्रिवेणीमा हेल्थ डेक्स राखेर नाकाबाट जिल्ला भित्रीनेहरुको स्वास्थ्य परिक्षण सुरु गरिएको चापागाईंले बताए ।

उनका अनुसार नाकामा गरिने स्वास्थ्य परिक्षणमा कोरोनाको लक्षण देखिएका बिरामीलाई तत्काल एन्टिजेन टेस्ट गरिने, कोरोना संक्रमण देखिएमा नजिकको स्वास्थ्य संस्थामा लैजाने व्यवस्था गरिएको छ ।

त्यस्तै भारत लगाएत तेस्रो मुलुकबाट आउनेहरुलाई कम्तीमा १० दिन सम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको र शंकास्पद लक्षण भएकालाई तत्काल पालिकाको स्वास्थ्य केन्द्रहरुमा एन्टिजेन टेस्टको व्यवस्था गरिएको चापागाईंले बताए ।

त्यसै गरि स्थानीय तहका स्वास्थ्य संस्था र जिल्ला अस्पतालमा यस अगाडि कोरोना संक्रमितलाई उपचारमा राखिएका बेडहरु र स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राखिएको चापागाईंले बताए । भारत लगाएत तेस्रो मुलुक बाट आउनेहरुका लागि क्वारेन्टाइनको हकमा अहिले केही निर्णय नगरिएको र होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको चापागाईंको भनाइ थियो ।

कोरोनोको सुरुको लहरमा कोरोना संक्रमणको दर फैलिए पछि जिल्लाको देवचुलीमा रहेको प्राकृतिक चिकित्सालयलाई अस्थायी कोरोना अस्पताल बनाएर उपचार गरिएको थियो । कोरोनाले सुरुवातमाझै महामारीको रुप लियो भने त्यस्तो अवस्थामा आफुहरु प्राकृतिक चिकित्साको माध्यमबाट संक्रमितको उपचार गर्न तयारी रहेको प्राकृतिक चिकित्सालयका निर्देशक डाक्टर विनोद पौडेलले बताए । “अहिले त स्थानीय तहहरुमा अस्थायी अस्पताल बनेका छ्न, जिल्ला अस्पताल छ, यदि महामारी बढेर असहज भए हामी कोरोना संक्रमित उपचार गर्न तयारी अवस्थामा छौ” डाक्टर पौडेलले भने ।

नवलपुरमा गत फागुन २ गतेबाट मध्यविन्दु जिल्ला अस्पतालमा  पीसीआर परीक्षण गर्न शुरु गरिएको छ ।  गत शुक्रबार सम्म जिल्लामा २५२१ जनामा कोरोना संक्रमण भएको थियो भने २४८४ जना संक्रमण मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । हाल सम्म जिल्लामा कोरोना संक्रमणको कारणले ३२ जनाको ज्यान गैसकेको छ । शुक्रबार सम्म जिल्ला ५ जना सक्रिय संक्रमित रहेका र मध्यविन्दु जिल्ला अस्पतालमा आइतबार गरिएको परिक्षणमा थप ३ जनामा संक्रमण देखिए पछि जिल्लामा सक्रिय संक्रमितको संख्या ८ पुगेको छ ।

प्रकाशित : २०७७ चैत ३० गते १५:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI